Sat. May 4th, 2024

विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ : प्रधानमन्त्री   

काठमाण्डू, २०८० फागुन ३ गते बिहीबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एसियामा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरूपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताउनुभएको छ ।

भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)-उत्तर क्षेत्रका उपकुलपतिहरूको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले चिकित्सा शिक्षा, जीवनशैली र शान्ति स्थापनाजस्ता विषयमा दक्षिणको मौलिक बौद्धिक सम्पदाले विश्वलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दक्षिणमा रहेका ज्ञानका स्रोतहरू विश्वव्यापी व्यवस्थामा योगदान पुर्याउनका लागि बैठक/सम्मेलन प्रस्थानविन्दु हुने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वव्यापी दक्षिणका लागि उच्च शिक्षा घोषणापत्र तयार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“हामीले आर्थिक मापदण्डका आधारमा दक्षिण र उत्तरबीच विभाजनलाई टाढा राख्नुपर्छ”, उहाँले भन्नुभयो, “बरु साझा आधारहरू खोजेर दक्षिण र उत्तरलाई जोड्ने तरिकाहरू खोज्नुुपर्छ ।” उहाँले उत्तर–दक्षिण जोड्ने घोषणापत्र लेख्न नेपालबाट काठमाण्डू विश्वविद्यालयले अगुवाइ गरिरहेको भन्दै यस्ता बौद्धिक कार्यले विश्वलाई नै सहयोग पुग्ने बताउनुभयो ।

आफ्नो ३२ वर्षको इतिहासमा, काठमाण्डू विश्वविद्यालयले अन्तर्राष्ट्रियकरण र शैक्षिक कार्यक्रमहरूको विस्तारमा सराहनीय प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पाँच हजारभन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्नातक गराएकोप्रति खुसी व्यक्त गर्नुभयो । विश्वविद्यालयको यसखाले पहलहरूले नेपालको शैक्षिक प्रस्तावहरूलाई मात्र नभएर अन्तर–सांस्कृतिक बुझाइ र सहकार्यलाई पनि बढावा दिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले आगामी शैक्षिक वर्षमा विश्वेश्वर योग अनुसन्धान संस्थानसँगको साझेदारीमा भारतको तिरुपतिमा प्रदान गरिएको योग विज्ञान र कल्याणमा स्नातक कार्यक्रमको साथमा काठमाण्डू विश्वविद्यालयले विदेशमा आफ्नो शैक्षिक कार्यक्रमहरू विस्तार गरेकामा बधाई दिनुभयो । प्रचण्ड

Facebook Comments