Wed. Apr 24th, 2024

लकडाउनमा हिडडुल गर्ने ४ हजार र सवारी चलाउने ७५ सय कारवाहीमा

- लकडाउनमा कडाइ गरिएसंगै उपत्यका छोड्नेहरूको संख्या बढ्दो

काठमाडौं, २०७६ चैत ३० गते आईतबार

लकडाउन शुरु भएको २० दिन अवधिमा चारहजार सर्वसाधारण, सातहजार पाँचसय भन्दा बढी सवारी साधनहरू कारवाहीमा परेका छन् ।

काठमाडौँ छोड्नेहरूको संख्या बढेसंगै कारवाहीको संख्या पनि बढेको हो । कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ शुरु भएको २० औं दिन आइतवार काठमाडौँ उपत्यकामा सवारी साधनहरू अन्य दिनको तुलनामा बाक्लो देखिएका छन् ।

नयाँ वर्ष २०७७ सालको पूर्वसन्ध्या र २०७६ सालको अन्तिम दिन भएकाले पनि आइतवार सडकमा सवारी साधनको चाप देखिएको हुनसक्ने सुरक्षाअधिकारी बताउँछन् । तर, महानगरीय प्रहरी कार्यालयले भने ‘लकडाउन’ लाई थप कडाई गरिएको जनाएको छ । बैंक तथा वित्तिय संस्थाहरूले नयाँ वर्ष शुभारम्भ भएसंगै विभिन्न बैकिङ् प्रणाली ‘अपडेट’ गर्नु पर्ने र मासिक ‘वासलात’ राख्नु पर्ने भएकाले बैंक तथा वित्तिय संस्थाका सवारीहरू सडकमा बढी गुडेको जानकारी ट्राफिक प्रहरीले दिएको हो ।

त्यस्तैं, बैंकको शाखाकाहरू अन्य दिनको तुलनामा आइतवार एक दिनलाई बढी खुलेका छन् । सेवाग्राहीको संख्या पनि ह्वात बढ्यो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले कारवाहीको संख्यामा पनि त्यतिकै रहेको बताउनुभयो ।

उहाँका अनुसार, राहत र खाद्य ढुवानीका सवारी बढी सञ्चालनमा आएका छन् । विशेष गरी ‘रिङरोड’ वाहिरका बस्तीहरूमा ई-बैंकिङ तथा बैकिङ सेवा सहज नहुँदा मुख्य शहरमा सेवाग्राहीको उपस्थिति बाक्लो देखिएको हो ।

नयाँवर्षको शुभारम्भसंगै बैशाख १ गते सोमवारबाट काठमाडौंँ उपत्यका लकडाउनमा थप कडाई गरिने निर्णय गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

राहत वितरणमा स्थानीय तहसंग समन्वय र सहजीकरण गर्ने तथा लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ, महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले भन्नुभयो-सर्वसाधारणको स्वास्थ्य तथा शान्ति सुरक्षाका लागि कडा गर्नै पर्ने भो ।

लकडाउनमा कडाइ गरिएसंगै उपत्यका छोड्नेहरूको संख्या बढ्दै गएको छ । यसैबीच, ट्राफिक महाशाखाले प्रत्येक ट्राफिक प्रहरी वृत्त र प्रभागमा माक्स, सेनिटाइजर र पन्चाहरू वितरण गरेको छ । सडकमा खटिने ट्राफिक प्रहरीलाई पनि माक्स र पन्जा वितरण गरेको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments