Mon. May 6th, 2024

लकडाउनले भ्वाइसकल २५ प्रतिशत घट्यो, रोमिङ शून्य

काठमाडौं, २०७६ चैत ३० गते आईतबार

कोरोनाभाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि मुलुकमा लकडाउन गरिएसँगै इन्टरनेटको प्रयोग बढे पनि प्रत्यक्ष कुराकानी अर्थात भ्वाइस हुने क्रम भने घटेको छ ।

विपद्का बेला अत्यावश्यकीय सेवाअन्तर्गत पर्ने दूरसञ्चार क्षेत्रमा यो बेला भ्वाइस कल सेवामा भने २५ प्रतिशत गिरावट आएको छ । यसअघिका भूकम्प, नाकाबन्दीजस्ता विपद्का समयमा भ्वाइस कल बढे पनि लकडाउनमा भने घटेको तथ्यांकले देखाएको छ ।

लकडाउनका कारण आम सर्वसाधारण घरभित्रै बस्नु, म्यासेन्जर, भाइबर, इमो, ह्वाट्सएपजस्ता कल च्याटिङ एपको प्रयोग बढ्नु, व्यावसायिक गतिविधि नहुनु जस्ता कारणले भ्वाइस कलमा गिरावट आएको हो । टेलिकम कम्पनीका अनुसार लकडाउनका कारण मुलुकभित्रको आन्तरिक कलमा मात्र नभइ अन्तर्राष्ट्रिय कलमा पनि ३० प्रतिशत गिरावट आएको छ । यतिमात्र नभइ अन्तर्राष्ट्रिय उडान नहुँदा तथा आर्थिक गतिविधि पनि ठप्प हुँदा रोमिङ कलसमेत यतिबेला शून्यप्रायः छ ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार लकडाउनले भ्वाइस कलमा २५ प्रतिशतभन्दा धेरै गिरावट आएको छ भने अन्तर्राष्टिय कलसमेत ३० प्रतिशतको हाराहारीमा घटेको अधिकारी बताउनु हुन्छ। उहाँका अनुसार अनुसार डेटा सेवामा भने ३० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ सम्ममा नेपाल टेलिकमका आधारभूत टेलिफोन, जीएसमएम, सीडीएमए र अन्य ग्राहकगरी भ्वाइस सेवातर्फ २ करोड २६ लाख ९६ हजार २५९ ग्राहक छन् ।

यतिबेला नेपालमा मात्रै नभइ भारतमा पनि भ्वाइस कलमा गिरावट आएको प्रवन्ध निर्देशक अधिकारीले बताउनु भयो । नेपालमा भ्वाइस कलमा एकाएक गिरावट आएपछि भारतका केही अपरेटरसँग बुझ्दा उनीहरूले पनि यस्तै अवस्था देखिएको बताएको अधिकारीको भनाइ छ । दूरसञ्चार क्षेत्रमा भ्वाइस कलमा गिरावट आउनु अहिले विश्वव्यापी समस्या भएको उहाँले बताउनु भयो ।
प्रवन्ध निर्देशक अधिकारीका अनुुसार सामान्य महिनामा ३० मिलियन अर्लाङ भ्वाइस कल हुनेमा लकडाउन भएयता २२ मिलियन अर्लाङमात्र कल हुँदै आएको छ । एक घन्टा निरन्तर कल भएमा त्यसलाई प्राविधिक रूपमा एक अर्लाङ भन्ने बुझिन्छ ।

भ्वाइस सेवामा कमी आए पनि यतिबेला डेटा सेवामा भने झन्डै ३० प्रतिशतको बढोत्तरी देखिएको छ । टेलिकम कम्पनीहरूले छुटसहित प्याकेज ल्याएकाले आम उपभोक्ताले डेटा खरिद गर्ने क्रम बढेको पाइएको छ । तर, सरकारले लकडाउनका समयमा २५ प्रतिशत डाटामा छुट गर्नुपर्ने व्यवस्था गरेपछि आम्दानी भने बढ्न नसकेको अधिकारी बताउनु हुन्छ । यसबाट टेलिकमको समग्र आम्दानीमा प्रभाव पर्ने देखिएको छ ।

सेवा प्रदायक कम्पनीका अनुसार अन्तराष्ट्रिय कलमार्फत आम्दानीमा हुने गिरावटले टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी २५ प्रतिशतसम्म घटेको छ । यसको मुख्य कारण ओभर द टप (ओटीटी) भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्याल बताउनु हुन्छ । उहाँका अनुसार ओटीटी कुनै इन्टरनेट प्रोभाइडरअन्तर्गत रहेर प्रदान गर्ने एप भाइबर, स्काइप ह्वाट्सएप, म्यासेन्जर, आईएमओलगायत सामाजिक सञ्जाल हुन् ।

यसको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानी खस्किएको हो । हाल भिडियो हेर्न टेलिभिजन, फोन तथा डेटा र म्यासेजका लागि गर्नुपर्ने अवस्थामा परिवर्तन भएको छ । अहिले हातमा स्मार्टफोन र इन्टरनेट छ भने एकै ठाउँबाट फोनकल, भिडियो कल, भिडियो हेर्न, म्यासेज गर्ने सकिने भएको छ । विश्वव्यापी रूपमै डाटाको प्रयोग बढ्दै जाँदा भ्वाइसको प्रयोग घट्दै गएको छ लकडाउने अझै घटाएको छ ।

लकडाउनकै समयमा पनि आगामी आर्थिक वर्षको बजेटमा छलफल, मर्मत सम्भारको काम तथा दैनिक हुने कामलाई भने निरन्तरता दिइरहेको टेलिकमले जनाएको छ । कारोवार दैनिकबाट

Facebook Comments