Fri. May 10th, 2024

पूर्वमन्त्री केशव बुढाथोकीको निधन

रमेश हतुवाली/काठमाण्डू, २०८० माघ २३ गते मंगलबार । पूर्वमन्त्री, पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीको निधन भएको छ । संविधान सभाका सदस्य तथा झापाली राजनीतिक आन्दोलनमा स्थापीत नेता बुढाथोकीको गए राती उपचारका क्रममा विराटनगरस्थित विराट मेडिकल कलेजमा ८० वर्षको उमेरमा  निधन भएको हो । नेता बुढाथोकी लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’ रोगबाट पीडित हुनुहुन्थ्यो ।

दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा तत्कालिन युवराज वीरेन्द्र वीर विक्रम शाहदेव र राजकुमार ज्ञानेन्द्र तथा धिरेन्द्रसँगै अध्ययन गर्नुभएका बुढाथोकीले जीवन भोगाईका क्रममा प्रशस्त लेख रचनाहरुको सृजना गर्नुभएको छ । मुलुकमा पञ्चायती व्यवस्थाको समयमा झापाली राजनीतिमा ‘सेतो बाघ’को नामले चर्चित नेता बुढाथोकी विक्रम सम्वत २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । सुरुमा नेपाली कांग्रेस, केही वर्षपछि पञ्चायती शासन व्यवस्था र पुन: नेपाली कांग्रेसमा प्रवेश गरि राजनीतिमा उदाउनु भएका बुढाथोकीलाई झापाली जनताले जुझारु र निडर नेताको रुपमा विश्लेषण गर्छन ।

परिवार श्रोतका अनुसार बुढाथोकीको शव अहिले बिहान बिराटनगरबाट झापा शनिश्चरेस्थित उहाँको घरमा पुर्याउने र त्यसपछि केही समय नेपाली कांग्रेसको जिल्ला पार्टी कर्यालय विर्तामोडमा श्रद्धाञ्जलीका लागि राखेर आजै दिउसो कन्काई माइ सुरुङ्गा झापामा दाहासस्कार गर्ने कार्यक्रम रहेको छ । उहाँकी पत्नी गीता बुढाथोकी, दुईजना छोरा आनन्द र शिशिर साथै दुई जना छोरीहरु ममता र कविता बुढाथोकी हुनुहुन्छ ।

बुढाथोकीको निधनमा दु:ख व्यक्त गर्नुहुँदै सभामुख देवराज घिमिरे श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । “पूर्वमन्त्री, संविधानसभा सदस्यरपूर्वसांसद, नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ, झापाली राजनीतिको स्थापित तथा लोकप्रिय नेता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य , मेरो मित्र केशवकुमार बुढाथोकीको गएराति विराटनगरमा भएको निधनले मर्माहत बनाएको छ । दुखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । सभामुख घिमिरेले भन्नुभएको छ ।”

Facebook Comments