Sat. Apr 20th, 2024

कोरोना : के छ दक्षिणपूर्वी एसियाको अवस्था ?

काठमाडौं, २०७६ चैत २७ गते बिहीबार

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दक्षिणपूर्वी एसियामा बंग्लादेश, इन्डोनेसिया, श्रीलंका, भुटान, मालदिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, म्यानमार, टिमोर लेस्ट, भारत र नेपालसमेत ११ देशलाई राखेको छ ।

डब्ल्युएचओको बुधबारसम्मको तथ्यांक अनुसार यो क्षेत्रमा १० हजार ७ सय ७ मानिसमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोनाबाट ४ सय २६ मानिसको मृत्यु भएको छ । अर्थात मृत्युदर करिब ३.९ प्रतिशत रहेको छ । यो मृत्यु दर सुरुमा आंकलन गरिएको ४.२ भन्दा कम हो ।

यो समाचार लेखिसक्दासम्म कोरोनाबारे नियमित अपडेट दिने वल्र्डोमिटरले दक्षिणपूर्वबारे सार्वजनिक गरेको तथ्यांक यस्तो छ :

बंग्लादेशमा अहिलेसम्म २ सय १८ जना संक्रमित भएका छन् । २० जनाको मृत्यु भएको छ भने ३३ जना निको भइसकेका छन् । यहाँ अहिलेसम्म ५ हजार १ सय नमुना परीक्षण भएको छ, जुन प्रति १० लाखमा ३१ मात्रै हो ।

भारतमा अहिलेसम्म ५ हजार ९ सय ६१ जना संक्रमित भएका छन् । एक सय ७८ को मृत्यु भएको छ भने ५ सय ६ जना निको भइसकेका छन् । भारतमा १ लाख ६५ हजार भन्दा बढी नमुना परिक्षण गरिएको थियो । अर्थात भारतको परिक्षण दर प्रति दशलाखमा १ सय २१ जना छ ।

इन्डोनेसियमा भने मृत्युदर उच्च देखिएको छ । इटाली, अमेरिका,  स्पेनभन्दा पनि इन्डोनेसियाको मृत्युदर उच्च पाइएको हो । यहाँ अहिलेसम्म २ हजार ९ सय ५६ जना संक्रमित भएका छन् ती मध्ये २ सय ४० को मृत्यु भइसकेको छ । अर्थात यहाँको मृत्युदर ८.१ प्रतिशत हो ।

इन्डोनेसियामा १४ हजारभन्दा बढी व्याक्तिको नमुना परीक्षण भइसकेको छ । जुन प्रति १० लाखमा ५१ जनाको परिक्षण हुनु हो । थाइल्याण्डमा अहिलेसम्म २ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ । ३३ को मृत्यु भइसकेको छ भने ८ सय ८८ जना निकोसमेत भइसकेका छन् ।

थाइल्याण्डमा ७१ हजारभन्दा बढी मानिसको नमुना जाँच गरिएको छ, दक्षिणपूर्वी एसियामा थाइल्याड नै सबैभन्दा बढी परीक्षण गर्ने देशका रुपमा रहेको छ । यहाँ प्रति १० लाखमा १ हजार ३० को नमुना परिक्षण भइरहेको छ ।

भुटानमा अहिलेसम्म ५ जनामा मात्रै संक्रमण देखिएको छ । तीमध्ये पनि २ जना निको भइसकेका छन्, भने ३ जना आइसोलेसनमा रहेका छन् । भुटानमा १ हजार ६६ नमुना परीक्षण भएको छ, जुन प्रति १० लाखमा १ हजार ५ सय ११ हो ।

श्रीलंकामा अहिलेसम्म १ सय ८९ जनामा संक्रमण देखिएको छ । तीमध्ये ७ को मृत्यु भइसकेको छ भने ४४ जना निको भइसकेका छन् । यहाँ ३ हजार २ सय ४८ जनाको नमुना परिक्षण भएको छ, जुन प्रति १० लाखमा १ सय ५१ हो ।

म्यानमारमा अहिलेसम्म २२ जनामा संक्रमण देखिएको छ । तीमध्ये ३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा एक ४७ वर्षीय थिए भने अरु २ जना ६० वर्षमाथिका मधुमेह र क्यान्सरका बिरामी थिए । म्यानमारमा १ हजार २ सय ४६ नमुना परीक्षण भएको छ । जुन प्रति १० लाखमा २३ हो ।

मालदिभ्समा अहिलेसम्म १९ जनामा संक्रमण पाइएको छ ।

नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ । तीमध्ये एक जना निको भइसकेका छन् । नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण भइसकेको छ । जुन प्रति १० लाखमा ८१ हो ।

टिमोर लेस्टमा अहिलेसम्म १ जनामा मात्रै संक्रमण देखिएको छ । उत्तर कोरियामा अहिलेसम्म आधिकारिक रुपमा कोरोना संक्रमितको तथ्यांक बाहिरीएको छैन, यद्यपी दक्षिण कोरियाका केहि सञ्चारमाध्यमले त्यहाँ कोरोना भाइरसको असर परेको जनाएका छन् ।

११ मूलुक समेट्ने दक्षिणपूर्वी एसियामा दैनिक नयाँ संक्रमितको संख्या ५ सय भन्दा तल छ भने मृत्यु हुनेको संख्या पनि ५० भन्दा तल नै रहेको छ ।

सोझो रुपमा तथ्यांक नियाल्दा एसियाली र अफ्रिकी मुलुकहरुमा संक्रमितको संख्या युरोप र अमेरिकाको तुलनामा निकै कम छ । त्यसकारण यसबाट हामी सुरक्षित देखिएका छौं । तर, यी मुलुकहरुमा कम संक्रमित देखिनुमा परीक्षण तीब्ररुपमा नहुनु पनि कारण हुनसक्छ ।

नेपालमा दैनिक परीक्षण दर बल्ल २ सय नाघेको छ । नेपाल मात्रै नभएर, अन्य केही एसियाली र अफ्रिकी मुलुकहरुमा परिक्षणको दायरा निकै कम भएका कारण अहिलेको अवस्थामा संक्रमितको संख्या निकै कम देखिएको हुनसक्ने देखिन्छ । विकसित राष्ट्रहरुको अहिले तीब्र परीक्षण गरिरहेका छन् । नयाँ पत्रिकाबाट

Facebook Comments