Fri. Apr 19th, 2024

फेरी लगाउने जोगी पनि क्वारेन्टाइनमा

- कोरोनाको कमाल

काठमाडौं, २०७६ चैत २६ गते बुधबार

दोलखाको मेलुङ गाउँपालिकामा परम्परागत रुपमा फेरी लगाउने जोगीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

फेरी लगाउन कोरोना संक्रमण फैलिएको छिमेकी देश भारतका विभिन्न ठाउँ पुगेर गाउँ फर्केका मेलुङ ७ स्थित जोगी गाउँमाका दुई जनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको हो।
भारतका सिक्किम, दार्जि्लिङ र कालिङ्पोङ लगाएतका ठाउँमा फेरी लगाएर चैतको पहिलो साता घर फर्केका रामबहादुर योगी र नारायण योगीलाई क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो।

नेपालमा भन्दा बढी रकम आउने आशाले फागुन अन्तिम साता फेरी लगाउन भारत पुगेका योगीहरु घर फर्के लगत्तै गाउँमा कोरोनाको त्रास भएपछि उनिहरुलाई गाउँ नजिकैको सेतीदेवि प्राविमा क्वारेन्टाइन बनाएर राखिएको हो।

हाल दुई जनालाई राखिएपनि करिब दस जना अझै आउनेक्रममा रहेकाले उनिहरुलाई समेत हुनेगरी क्वारेन्टाइन तयार गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।
क्वारेन्टाइनमा दस वटा खाटको व्यवस्था गरिएको छ । खाना पकाउने भान्साका सथै भान्सेको पनि व्यवस्था गरिएको छ । पानी र चर्पीको समेत व्यवस्था गरिएको क्वारेन्टाइनमा मेलुङ स्वास्थ्य चौकी इन्चार्ज रामबहादुर योगीले दैनिक रुपमा स्वास्थ्य जाँच समेत गरिरहेका छन्।

वडा अध्यक्ष खड्काका अनुसार वडा स्तरीय विपद् व्यवस्थापन कोष खडा गरि सोही कोषबाट खर्च गर्नेगरी क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो। कोषमा हालसम्म दुई लाख २९ हजार जम्मा भएको छ ।

करिब एक सय ५० घरधुरी रहेको जोगी गाउँमा खेतीपाती, नोकरी गर्नेहरु भएपनि गाउँघरमा परम्परागत रुपमा कात्तिक र चैतमा फेरी लगाउने चलन रहेको स्थानीय स्वस्थ्य स्वयंसेवी बालकुमारी योगी बताउनुहुन्छ ।

कमाइ राम्रो हुने आशामा भारत गएकाहरु गाउँ फर्केपछि कोरोना संक्रमण फैलन नदिनका लागि उनिहरुलाई घरपरिवार, गाउँले र वडाको पहलमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

जोगी जातिका हरेक पुरुष सदस्यहरूले जीवनमा अनिवार्य रुपमा एक पटक फेरी फुकेर हिड्नुपर्ने परम्परागत मान्यता रहेको छ । त्यसैले जति पढे पनि उनीहरू एक पटक फेरी लगाउन हिड्ने गरेका छन् । पछिल्लो समय नेपालमा भन्दा भारतका सिक्किम, दार्जि्लिङ र कालिङ्पोङ जस्ता नेपाली भाषी सहरमा फेरी लगाउन जाने गरेका छन्।

फेरी लगाउँदा घरगृहमा स्वस्ति शान्तिका साथै दसाग्रह कट्ने जनविश्वास रहि आएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments