Tue. May 7th, 2024

शेयर बजार उच्च अंकले वृद्धि

भिओके समाचार/काठमाण्डू, २०८० पुस २३ गते सोमबार । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको शेयर बजार आज उच्च अंकले बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३६.५७ अंक बढेर २०५९.४९ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ ।

हिजो ५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, माउन्टेन इनर्जी नेपालको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको कारोबार रकम साढे १६ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक, वित्त, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Facebook Comments