Mon. May 6th, 2024

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य   

- ‘प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाण्डू, २०८० मंसिर २० गते बुधबार । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ । असोजको अन्तिम साता उहाँ मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठको उपचारका क्रममा गरिएको परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो । मुटुमा हल्का असहज महसुस भएपछि गएराति उहाँ अस्पताल भर्ना हुनुभएको हो ।

अस्पतालका चिकित्सक डा. अरुण मास्केसहितको टोलीले अवरोध रहेको मुटुको भागमा गए राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको गृह मन्त्रालयले जनाएको छ ।सघन उपचार कक्षमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठको हालस्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार उहाँलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँहरूबीच सामान्य कुराकानीसमेत भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । रासस

Facebook Comments