Sat. May 11th, 2024

कोरोनाले लेखायो-“प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी”

- नरेन्द्रराज प्रसाई

काठमाडौं, २०७६ चैत २१ गते शुक्रबार

मान्छेको जीवन आआफ्नै प्रकारले परिचालित हुन्छ । मेरो जीवनको लक्ष्यचाहिँ इतिहासमा हराएका, दबिएका र छोपिएका तथ्यहरूलाई प्रकाशमा ल्याउने हो । यसै मेलोमा यस कोरोनाले घरमा थुनेको अवस्थामा मैले ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी’ (२०६४) नामक कृति तेस्रो संस्करणको प्रकाशनका लागि तयार गरेँ ।



“प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी” तृतीय संस्करणमा एउटा पाठ ‘ललितत्रिपुरसुन्दरीको काशीमा कीर्तिस्तम्भ’ थपिएको छ । जुन लेख हामी नइले २०७२ साल चैत १७ गतेदेखि २३ गतेसम्म काशीमा बसेर अन्वेषण गरेको आधारमा तयार पारेको छु ।

आफ्ना पति रणबहादुर शाहको मोक्षका लागि १८६९ सालमा ललितत्रिपुरसुन्दरी काशी गइन् । त्यहाँ उनी दुई वर्ष बसेर ललिताघाटको जिर्णोद्धार गरिन्, धर्मशाला र मठमन्दिर बनाइन् । त्यहाँबाट ज्ञानगुन समेत बटुलेर २२ वर्षको उमेरमा उनी नेपाल फर्किन् । त्यसपछि उनले संस्कृत भाषाको ‘राजधर्म’ नेपाली भाषामा अनुवाद गर्न थालिन् । त्यो ग्रन्थ पूरा गर्न उनलाई १० वर्ष लागेको थियो ।

ललितत्रिपुरसुन्दरीले काशीको ललिताघाटमा गौरीको प्रतिमा बनाएर प्राणप्रतिष्ठा समेत गराइन् । उनको शेषपछि त्यस मन्दिरलाई ललितागौरीको नाउँले पूजा गर्न थालियो ।

ललिताघाट रणबहादुर शाहले काशी नरेशसँग लिएका थिए । त्यो ठाउँ अझै नेपालकै अधिनमा रहेको छ ।

धरहरा दुइटा थिए । एउटा अर्को धरहरा जनरल भीमसेन थापाले बनाएका थिए । अहिले निर्माण गर्न थालिएको धरहरा चाहिँ ललितत्रिपुरसुन्दरीले बनाएकी थिइन् ।

पहिला काठमाडौं ललितपुर जाने आउने पुल थिएन । ललितत्रिपुरसुन्दरीले बागमतीमा पुल थापिन्, काठमाडौंपट्टि सिँहकेतुको स्तम्भ ठड्याइन् । उनैले त्रिपुरेश्वरमा महादेव मन्दिर बनाइन् । साथै सुनधारा बनाउने पनि ललितत्रिपुरसुन्दरी नै थिइन् ।

श्री ५ रणबहादुर शाहको १८६३ सालमा हत्या भएको थियो । रणबहादुर शाहका सौतेनी भाइ चौतारिया शेरबहादुर शाहले तरबारले उनको हत्या गरेका थिए । ललितत्रिपुरसुन्दरीको पर नसर्दै विवाह भयो र पर नसर्दै उनका पति स्वर्गीय भएका थिए । उनी राजकीय रूपमा विवाह गर्ने पाँचौ रानी थिइन् । त्यस बेला भीमसेन थापाका कृपाले उनी एक जनाले मात्र सती भएर आगामा जल्नु परेन । तर रणबहादुर शाहका १४ जना रानी उपरानीले सती भई आगामा जल्नु परेको थियो ।

ललितत्रिपुरसुन्दरीले छोरा नातिको नायवी भएर राज्य सञ्चालन गरिन् । नेपालको इतिहासमा सबैभन्दा धेरै समयसम्म नायवी भएर राजकाज गर्ने रानी ललितत्रिपुरसुन्दरी नै थिइन् । उनले २५ वर्षजति नेपाल राष्ट्रको शासन गरेकी थिइन् ।

१८५० सालमा जन्मेकी ललितत्रिपुरसुन्दरी १८८८ सालमा स्वर्गीय भइन् ।

ललितत्रिपुरसुन्दरीको मुहार अङ्कित प्रस्तुत चित्र मेरो परिकल्पनामा बनेको हो । अनि यो अमर चित्र बनाउने विशिष्ट चित्रकार हुन्-इन्द्र खत्री ! यो चित्र प्रकाशनमा आएपछि यही नै सर्वत्र प्रचलनमा आयो । यसभन्दा अघि रानी ललितत्रिपुरसुन्दरीको चित्र बनेको थिएन ।

– नरेन्द्रराज प्रसाई वरिष्ठ लेखक,साहित्यकार तथा नइ प्रकाशनका सदस्य सचिव हुनुहुन्छ ।

Facebook Comments