Thu. May 16th, 2024

नाटो एशियामा विस्तार हुने भन्दै विज्ञहरुद्वारा चिन्ता व्यक्त

रमेश हतुवाली/काठमाण्डू, २०८० भदौ १५ गते शुक्रबार । उत्तर एटलान्टिक सहयोग संगठन नाटो एशियामा विस्तार हुने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) समाजवादी निकट सामाजिक साँस्कृतिक अध्ययन मञ्चले आज काठमाण्डूमा आयोजना गरेको “नाटो अब टाढा छैन” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) समाजवादीका विदेश विभाग सदस्य तथा विश्लेषक ओम चरण अमात्यले अमेरिकी सहयोग परियोजना एमसीसी लागु भएपछि चीनलाई घेर्ने उपयुक्त भूमिको रुपमा नेपाललाई उपयोग गर्दै अमेरिकाले नाटोलाई एशियासम्म विस्तार गर्ने खतरा रहेको बताउनु भयो । सन् २००८ को पैचिङ ओलम्पिक खेलकूदमा चीनले प्राप्त गरेको आश्चर्य लाग्दो उपलब्धि र विश्वको दोश्रो ठूलो अर्थतन्त्र बन्नै लागेको चीन आफ्नो सबैभन्दा ठूलो खतरा सम्झेर चीनका विरुद्ध अमेरिका एमसीसी परियोजना मार्फत नेपाल पस्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य भविसोर पराजुलीले अमेरिका विश्व साम्राज्यवादको नेतृत्वकर्ता भएको र उसको सबैभन्दा ठूलो लडाई कम्युनिष्टहरुसँग चलिरहेको बताउनु भयो । नेता पराजुलीले आफ्नो पार्टी एमसीसीको विरुद्धमा रहेको र एमसीसीको अनुगमन गर्न सत्तागठबन्धमा रहेका दलहरुले सम्यन्त्र नबनाए आफ्नो पार्टी सत्ताबाट समेत अलग हुने चेतावनी दिनुभयो ।

कार्यक्रमका सभापति न्हुछे बहादुर ढुकुछुले सार्वजनिक चासो र जनसरोकारका विविध विषयमा सामाजिक साँस्कृतिक अध्ययन मञ्चले समय समयमा कार्यक्रमहरु सञ्चालन गरिहरने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरुले एमसीसी परियोजना, चीनले जारी गरेको नयाँ नक्सा लगायतका विविध विषयमा जिज्ञासा राखेका थिए ।

Facebook Comments