Thu. May 16th, 2024

मेयर बालेन्द्र शहद्वारा चीन भ्रमण रद्द

भिओके समाचार/काठमाण्डू, २०८० भदौ १४ गते बिहीबार । नेपालले २०७७ साल जेठ ७ गते जारी गरेको नयाँ चुच्चे नक्सा चीनले स्वीकार नगरेको भन्दै काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शहले चीन भ्रमण रद्द गर्नुभएको छ ।

चीनको प्राकृतिक स्रोत मन्त्रालयले केही दिन पहिले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतको भूभागमा देखाएर नक्सा प्रकाशन गरेको भन्दै मेयर शाहले असन्तुष्टि जनाउनुभएको हो । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर बालेन्द्र साहको भनाइ छ ।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय  गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेख्नु भएको छ ।

नेपालले २०७७ साल जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।

Facebook Comments