Fri. Apr 26th, 2024

नेपाल पर्यटन विकास व्यवसायी संघद्वारा डा.योगी विकासानन्द सम्मानीत

काठमाडौं, २०७६ चैत १ गते शनिबार

मनोक्रान्ति दर्शनका प्रणेता, दार्शनिक डा.योगी विकासानन्दलाई नेपाल पर्यटन विकास व्यवसायी संघ, काठमाडौंले शनिबार सम्मान गरेको छ ।

आध्यात्मज्ञानको प्रचार प्रसार तथा दर्शनका माध्यमबाट स्वस्थ समाज निर्माण एवम् आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गरेबापत डा.योगी विकासानन्दलाई दोसल्ला तथा प्रमाणपत्र अपर्ण गरी सम्मान गरिएको हो ।


काठमाडौं सामाखुसीस्थित मनोक्रान्ति भवनमा आयोजना गरिएको भव्य सम्मान समारोहमा बोल्दै नेपाल पर्यटन विकास व्यवसायी संघका अध्यक्ष निराजन तिवारीले विगत लामो समयदेखि डा.योगी विकासानन्दले नेपाललाई आध्यात्मिक पर्यटन गन्तब्यको मुल थलो बनाउन निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्नुभयो ।

डा.योगी विकासानन्दको सक्रियतामा पोखरामा ध्यान केन्द्रको स्थापना गरिएको प्रसंग उठाउनु हुँदै अध्यक्ष तिवारीले प्रत्येक महिना ३ दिनसम्म सञ्चालन हुने आवासिय ध्यान तथा योग शिविरले स्वदेशी तथा विदेशी पर्यटकहरुको ध्यान खिच्न सफल भएको बताउनु भयो । साथै तिवारीले डा.योगी विकासानन्दको संसार बदल्नु छ भने शुरूवाद आफैबाट गर्नपर्छ भन्ने जीवन जिउने दर्शनले लाखौ मानिसहरुलाई सही गन्तब्य प्रदान गरेको पनि बताउनु भयो ।


सम्मानीत व्यक्तित्व डा.योगी विकासानन्दले प्राचिनकालदेखि नै नेपाल ध्यान, योग र ज्ञानको त्रिवेणी भएको बताउनु भयो । ऐतिहासिक कालदेखिनै भारतीयहरु ध्यान, योग र ज्ञान प्राप्तिको लागि नेपालका उच्च हिमाली क्षेत्रतिर आउने गरेको रहस्य खोल्नु हुदै उहाँले आधुनिक समाजमा हुर्किएका पुस्ताले आध्यात्मिक ज्ञानलाई चिन्न नसक्नु र योगलाई वेच्न नसक्ने भएकोले नै योगको जानकारी लिन समेत भारततिर जानु परेको दुखेको व्यक्त गर्नुभयो ।

डा.योगी विकासानन्द

डा.योगी विकासानन्दले शान्ति, ज्ञान र आध्यात्मिक चिन्तन गर्न उचीत स्थान खोज्दै हिड्नेहरुका लागि नेपाल विश्वकै नमूना गन्तब्य बन्न सक्ने विश्वास समेत व्यक्त गर्नुभयो । साथै उहाँले देशका विभिन्न भागमा सञ्चालन गरिने ध्यान तथा योग शिविरले समाजलाई सकारात्म बाटोतिर डोर्याउने विश्वास व्यक्त गर्नुहुँदै सम्मानका लागि नेपाल पर्यटन विकास व्यवसायी संघ, काठमाडौंलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


सो समारोहमा नेपाल पर्यटन विकास व्यवसायी संघका सचिव भागवत सिम्खडा, सहसचिव अमित वस्ती, कार्यसमिती सदस्य ऋषीराज उपाध्याय कष्ण, साधारण सदस्यहरु भरतराज तिम्लसिना, अनिल महर्जन तथा ध्यान शिविरमा सहभागी हुनुभएका झण्डै एक सय जनाको सहभागीता रहेको थियो ।

डा.योगी विकासानन्द

डा.योगी विकासानन्द युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुनुहुन्छ। उहाँले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्यलाई व्यापक बनाउनु भएको छ । प्राप्त जानकारी अनुसार उहाँको जन्म बि. सं. २०१८ असार २ गते भएको हो र उहाँलाई काठमाडौं क्षेत्रपाटीको गणेश मन्दिर अगाडि सालनाल सहितको नाबालक अवस्थामा बेवारिसे फेला पारिएको हो ।

डा.योगी विकासानन्द

उहाँ वि.सं.२०३९ माघ १३ गते जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पस्नु भएको थियो । ६ बर्षको प्रवास पछि २०४७ सालमा नेपाल फेर्केर उहाँले योग सिकाउन शुरू गर्नुभयो ।

संसार बदल्नु छ भने शुरूवाद आफैबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने हुनाले डा. विकासानन्दलाई उत्प्रेरक पनि मानिन्छ ।

Facebook Comments