Sun. May 19th, 2024

होलीमा लोला हान्ने रङ दल्ने काम नर्गन गृह मन्त्रालयको आग्रह

काठमाडौं, २०७६ फागुण २५ गते आईतबार

गृह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न अनुरोध गरेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने भएकाले बढी भीडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला तथा भीडभाड बढ्ने कार्यक्रमहरू नगर्न र सहभागी नहुन अनुरोध गरेको हो ।

गृह प्रवक्ता केदारनाथ शर्माले संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन आमनागरिकले ब्यक्तिगत स्वास्थ्य सतर्कता अपनाउन अनिवार्य भएकाले होली पर्वमा भिडभाड, पानी खेल्ने र रङ छयाप्ने कार्य नगर्न अनुरोध गर्नुभयो ।

आम नागरिकबीचको आपसी समन्वय, सहयोग र सतर्कताले कोभिड-१९ को संक्रमणलाई नेपाल भित्रिन नदिन सहयोग पुग्ने छ । सरकार पनि संक्रमण भित्रिन नदिन हरेक उपाय अवलम्वन गर्न प्रतिवद्ध रहेको मन्त्रालयद्धारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड-१९ संक्रमणका सम्वन्धमा अनावश्यक हल्ला र भ्रम फैलाइ उपभोग्य बस्तुको खरिद र भण्डारणमा कुनै किसिमको हतार नगर्न, कालोवजारी, मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइएमा सम्वन्धित निकायमा सम्पर्क गरी गलत कार्यलाई निरुत्साहित गर्न अपिल गरेको छ ।

त्यस्तैं, सार्वजनिक सञ्चार माध्याम र सञ्चारकर्मीहरुलाई पनि सत्य र तथ्यपरक सूचना प्रवाह गरी आम जनमानसमा त्रासदिपूर्ण अवस्था सिर्जना हुन नदिने किसिमको जिम्मेवारी वहन गर्न गृह प्रवक्ता शर्माले आग्रह गर्नुभयो ।

हाल, नेपालमा कोभिड-१९ को संक्रमण भएका ब्यक्तिहरू पत्ता लागेको छैन । तरपनि यस सम्वन्धमा उत्पन्न गरिएका हल्ला र प्रचारवाजीका पछाडि नलागी कोभिड-१९ रोगको लक्षण र सर्ने अवस्था र बच्ने उपायका वारेमा जानकारी लिन आह्वान गरिएको छ ।

विशेष गरी ज्वरो, सुख्खा खोकी, स्वासप्रस्वासमा समस्या आउनु कोभिड-१९ को लक्षण रहेका छन् । मन्त्रालयका अनुसार, रोगको छिटो पहिचान, संक्रमित ब्यक्तिले समयमा नै उपचार गराएका संक्रमणको जोखिमबाट मुक्त हुने सम्भावना रहेको छ ।

त्यस्तैं, घरपरिवार, ब्यक्ति र समुदायले सावधानीका उपायहरू अवलम्वन गरेमा यस्को संक्रमण रोक्न सकिन्छ । सरकारले पनि देशको सीमा नाका, अन्तराष्ट्रिय आवात जावत केन्द्रहरूमा प्रभावकारी स्वास्थ्य परीक्षण, रोगको निगरानीकक्ष, अस्पतालहरूमा पूर्वतयारी लगायत रोकथामका विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।

गोरखापत्र अनलाईनका अनुसार गृह प्रवक्ता शर्माले हर्षोउल्लासका मनाइने फागु पर्व आफ्नै घर आगन तथा घर परिवारका सदस्यहरूबीच आपसी सद्भाव, भाइचारा अभिबृद्धि गरी मनाउन आग्रह गर्नुभयो । होलीका नाममा लोलापानी, अविर दल्ने र पानी फाल्ने कार्यले कोभिड-१९ को संक्रमण हुन सक्ने तर्फ सतर्क रहन अपिल गरेको छ ।

Facebook Comments