Fri. Sep 20th, 2024

एशिया-प्रशान्त समूह निर्माणका लागि राष्ट्रपति सीको आग्रह   

बैङ्कक, २०७९ मंसिर २ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एशिया-प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया-प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

यस क्षेत्रका वासिन्दाहरुले एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । २९ औँ एशिया-प्रशान्त आर्थिक सहयोग मञ्च (एपेक) का आर्थिक मामिला हेर्ने नेताहरुको बैठकलाई सम्बोधन गर्दै सीले एशिया-प्रशान्त क्षेत्र आफुहरुको घर हुनुका साथै विश्वव्यापी आर्थिक विकासको शक्तिकेन्द्र पनि भएको बताउनुभयो । बितेका दशकहरूमा, यस क्षेत्रमा बलियो आर्थिक सहयोगले ‘एशिया-प्रशान्त चमत्कार’ सिर्जना गरेको र यसको विश्वभर प्रशंसा गरिएको उहाँले स्मरण गर्नुभयो ।

राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय कायम गर्न साथै शान्ति र स्थिरतासहितको एशिया प्रशान्त क्षेत्र निर्माण गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गर्दै पारस्परिक सम्मान, ऐक्यबद्धता र सहयोगको महत्वलाई विशेष जोड दिन सम्मेलनमा सहभागी नेताहरूसँग आग्रह गर्नुभयो । उहाँले खुलापन र समावेशिताप्रति प्रतिबद्ध रहन र एशिया-प्रशान्त क्षेत्रका सबैका लागि समृद्धि ल्याउन सामुहिक प्रतिवद्धताका लागि पनि आह्वान गर्नुभयो ।

एशिया-प्रशान्त सहयोगलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्ने, क्षेत्रीय सहयोगको मुख्य च्यानलका रुपमा एपेकको भूमिकालाई कायम राख्नुपर्ने र एशिया प्रशान्त सहयोगलाई सही दिशामा लैजानुपर्ने सी को धारणा थियो । सीएमजी

Facebook Comments