Sun. Apr 28th, 2024

चीनबाट फर्काइएकालाई चार स्थानमा व्यबस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २०७६ माघ २३ गते बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्री तथा मन्त्रालयका उच्च अधिकारीहरुलाई चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई स्वदेशमा ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शिवपुरी, इचगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन समेत प्रधानमन्त्री ओलीले बैठकमा निर्देशन गर्नुभयो ।नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न मन्त्रालय र निकायहरूलाई निर्देशन दिनुभएको हो ।

बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गर्नुभयो भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराउनुभयो । एक लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय नेपालले गरेको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments