Fri. Oct 18th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन पैचिंगमा जारी, महासचिव सीको प्रतिवेदनमाथि गहन छलफल हुँदै

- महाधिवेशनको तेस्रो दिन

काठमाण्डौं, २०७९ कात्तिक १ गते मंगलबार । चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन चीनको राजधानी पैचिंगस्थित जनबृहत सभा भवनमा सञ्चालन भैरहेको छ ।

कात्तिक ५ गतेसम्म सञ्चालन हुने सो महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिंगले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि महाधिवेशनका प्रतिनिधिहरुले गहन छलफल गरिरहेका छन् । रे टेलिभिजनको सञ्चार साझेदार संस्था चाईना मिडिया ग्रुपका अनुसार महासचिव सीले महाधिवेशनमा सहभागी हुन विभिन्न प्रान्तबाट आएका प्रतिनिधिहरुसँग चरण चरणमा छलफल गरिरहनु भएको छ । सोही क्रममा सीले सोमबार क्वाङसी प्रान्तका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको थियो ।

विभिन्न प्रान्तका प्रतिनिधिहरुसँगको छलफलमा महासचिव सीले समाजवादी आधुनिक देशको चौतर्फी निर्माणबारे रणनीतिक योजना, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको समाजवादी आधुनिकीकरण, गरिवी निवारण, मानव जातिको साझा भाग्य, विश्व शान्तिको संरक्षण र मानवीय हित लगायतका विविध विषयमा छलफल गर्नुका साथै महाधिवेशनका प्रतिनिधिहरुले आफ्नो क्षेत्रको विकास, निर्माण लगायतका विविध विषयमा सोधेका प्रश्नहरुको पनि जवाफ दिईरहनु भएको छ ।

महासचिव सीले महाधिवेशनका प्रतिनिधिहरुसँग चीनले स्वतन्त्र एवम् शान्तिपूर्ण कूटनीतिको अटलताका साथ पालना गर्ने, विश्व मामिलामा निष्पक्षता र न्यायको संरक्षण गर्ने, कुनै पनि किसिमको प्रभुत्ववाद, शीत युद्ध सम्बन्धी विचार, अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गतिविधि तथा दोहोरो मापदण्डको दृढताका साथ चीनले विरोध गर्दैआएको बताउनु भएको छ ।

चीनले शान्तिपूर्ण सहअस्तित्व सम्बन्धी पाँच सिद्धान्तको आधारमा नयाँ ढाँचे अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्न र विश्वव्यापी साझेदारी सम्बन्धको विस्तार गर्न चीनले प्रयास गरिरहेको पनि सीले प्रस्ट पार्नुभएको छ । चीनले कहिल्यै कुनै देशमाथि आधिपत्य नजमाउने पनि सीले दोह-याउनु भएको छ । सीएमजी

Facebook Comments