Sat. Jul 27th, 2024

२ नम्वर प्रदेशमा छोरीलाई उच्च प्रार्थमिकता, ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गतको छोरी शिक्षा बिमाको रकम तीन लाख पुर्याईयो

जनकपुरधाम, २०७६ माघ १७ गते शुक्रबार

प्रदेश २ मा छोरीहरु जन्मिँदै अब तीन लखिया हुने भएका छन्। प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गतको छोरी शिक्षा बिमाको रकम तीन लाख पुर्‍याएको छ।

२०७५ माघ १ पछि प्रदेशका आठै जिल्लामा जन्मेका छोरीहरुको १ लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको सरकारले सो रकमलाई अर्को वर्षमा तेब्बर बनाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले रकम बढाएर ३ लाख गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले बताउनु भयो ।

राउतले मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बिमाको रकम बढाइएको जानकारी गराउनु भएको हो ।

सरकारको निर्णयको कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पर्सामा एक कार्यक्रममा बिमा योजना आरम्भ भएको थियो। कार्यक्रमअन्तरगत गत आर्थिक वर्षमा ४ हजार ३ सय ७३ नवजात छोरीहरुको बिमा भइसकेको छ। त्यसैगरी ३ हजार १ सय १८ नयाँ फर्महरु भरिएका छन् जसको सबै प्रकृया पूरा भएर बिमाको रकम पठाउन मात्र बाँकी रहेको छ।

त्यसैगरी बिमा कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहमा सञ्चालित शिविरहरुमा पनि बिमा गरिएको थियो। हालसम्म करिब १५ हजार विमा गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। यसअघि बिमा गराइसकेका छोरीहरुले पनि बढाइएको रकमको सुविधा पाउने छन्।

छोरी शिक्षा बिमा कार्यक्रममा प्रदेश सरकारले प्रभु बैंकसँग सम्झौता गरी नवजात छोरीहरुको बिमा गर्दै आएको छ। बिमित छोरीहरुले २० वर्षको उमेर पूरा भएपछि तीन लाख रुपैंया बिमाको रकम पाउने छन्।  ‘प्रदेशका छोरीहरु अब जन्मिदैं तीन लखिया हुनेछन्,’ मुख्यमन्त्री राउतले पत्रकार सम्मेलनमा भन्नु भयो , ‘सामाजिक विभेद हटाउन र छोरीहलाई सशक्त बनाउन यस अभियानले ठूलो सहयोग गर्ने छ।’

यो कार्यक्रम आगामी दिनमा स्थानीय सरकारसँग मिलेर गर्ने योजना राखेकाले स्थानीय तहलाई पनि सहयोग गर्न मुख्यमन्त्री राउतले आग्रह गर्नुभयो । उहाले भन्नु भयो, ‘हामीले अहिलेलाई ३ लाख पुर्याएका छौं, स्थानीय सरकारबाट सहयोग भयो भने यस रकमलाई २० वर्षमा २० लाख बनाउने लक्ष्य छ।’
‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई प्रभावकारी बनाउन संघिय सरकारबाट गत आर्थिक वर्षमै ५० करोड अनुदान प्रदेश सरकारलाई उपलब्ध गराईएको थियो। सो रकम हालसम्म पनि खर्च हुन नसकेकोले बिमा रकम बढाउँदा बजेटको कुनै अभाव नहुने मुख्यमन्त्रीले बताउनु भयो । अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments