Mon. May 20th, 2024

स्ट्यान्डिङ टुगेदर विथ उहान !

उहान, चीन २०७६ माघ १५ गते बुधबार

विगत केही सातादेखि चीन चुनौतीपूर्ण अवस्थामा छ, र चुनौती दिएको छ नोवल कोरोना भाइरसले । नोवल कोरोना भाइरसको यो स्ट्रेनले यो लेख लेख्दै गर्दासम्म १०६ जनाको मृत्यु र करिब ४५१६ मान्छेमा संक्रमण गरेको पुष्टि भैसकेको छ । र सबैभन्दा डरलाग्दो तथ्य के छ भने, भाइरस विरुद्धको भ्याक्सिन आविष्कार भैनसकेको र भाइरसको उत्पती, संक्रमणका सम्भावनाको यकिन निष्कर्ष अझै निस्किसकेको छैन ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको उहान सहर, चीनको मध्य भागमा पर्ने हुपई प्रान्तको राजधानी हो जो ठुला मानिएका सहर पैचिंग र साङ्घाइ पछि एसियाकै व्यापारिक, औद्योगिक र शैक्षिक केन्द्र बनाउने भनी चीनले महत्वपूर्ण रुपमा हेरेको सहर हो । चीनकै सबैभन्दा ठूलो याङ्जी नदी विचमा रहेको यो सहरमा हाल ५२ वटा त विश्वविद्यालय मात्रै छन् जसमा करीब १०० देशका ७ लाख अन्तरास्ट्रिय विद्यार्थी अध्ययनरत रहेका छन् । चीनको केन्द्रिय अर्थतन्त्रसंग ठूलो महत्त्वका साथ जोडिने उहान करिब १ करोड १० लाख चिनियाँ नागरिकको घर पनि हो ।

गत बिहिवारबाट सम्पुर्ण रुपले लकडाउन गरिएको यहि उहान अहिले विपत्तिसग लडिरहेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण र फैलावटलाई लिएर यहाँको सरकारले उहानका वासिन्दालाई घरभित्रै बस्ने सुझाव सुल्झाएको छ । चीनले मेडिकल इमेर्जेन्सीको रुपमा कोरोना भाइरस संक्रमणलाइ स्विकार्दै स्थिति भयावह रहेको जनाइसकेको छ । २१ औं शताब्दीको यो सुचना र प्रविधिको युगमा पनि यो नोवल भाइरसको सुचनाको अभावले स्थितिलाई थप जटिल तुल्याएको देखिन्छ ।

यो भाइरस नयाँ किसिमको हो, लगभग एक महिनाअघि प्रमाणित भैसकेको यो भाइरसको बारेमा खर्चालु अध्ययन र अनुसन्धानले पनि सतप्रतिशत तथ्य बाहिर ल्याउन सकेको छैन जस्तो कि; यसको उत्पत्ति, स्पेसिज जम्पिङ (भिन्न भिन्न जनावरमा पाइएको), सर्ने कारण, सर्ने माध्यम र लिथालिटी ( मान्छे मार्न सक्ने क्षमता ) । यी प्रश्नहरु अझै अनुत्तरित नै छन्, बाहिर आएका सुचनाहरु सबै सुचनाहरु स्पेसिज रिलेटिभनेस ( अर्को सम्पुर्ण सुचना भएको भाइरस/प्याथोजन सगको नजिकता ) को अधारमा ल्याइएका हुन ।

हालसम्मको अध्ययनले 2019-nCoV व उहान कोरोनो भाइरस नाम दिएको यो भाइरस पोजिटिभ सेन्स, सिङ्गल स्ट्राण्ड आर एन ए भाइरस हो, जसको जिनोम न्युमोनिया लागेका व्यक्तिबाट छुट्याइएको थियो । अन्य कोरोना भाइरसहरु भन्दा केही फरक पाइएको यो भाइरसलाइ कोरोना भाइरस कै परिवारमा राखेर बैज्ञानिकहरु अध्ययन गरिरकेका छन् जसमा सामान्य रुघाखोकी लगाउने कोरोना भाइरस देखि मान्छेको प्राणघातक भाइरसहरु मर्स (Middle East Respiratory Syndrome, MERS) र सार्स (Severe Acute Respiratory Syndrome, SARS) समेत पर्दछन ।

सार्स ले सन २००१ नोबेम्बर देखि जुलाइ २००३ सम्ममा दक्षिणी चिनबाट उत्पती भएर १७ वटा देशमा करिब ८१०० मान्छेमा संक्रमण र ७७४ मृत्यु गराएको थियो भने मर्स सन् २०१२ मा साउदी अरेबियामा उत्पती भएर सन् २०१८ सम्ममा करिब २४ देशका १००० मान्छेमा संक्रमण र ४०० जनाको मृत्यु गराइसकेको छ । नोवल कोरोना भाइरस सर्ने माध्यमहरु यकिन नभएपनी २० जनवरीमा चीनको ग्वान्तोङ प्रान्तमा मान्छेबाट मान्छेमा सरेको प्रमाणित भैसकेको छ । सामान्यतया एकजना रोगी व्यक्तिबाट ३ देखि ५ जनासम्म भाइरस सर्न सक्ने कुरा अध्ययनले देखाएको छ जसले गर्दा संक्रमितको संख्या अझै धेरै रहेको आशंका गरिएको छ ।

ज्वरो आउने, शरीर छिटो गल्ने, सुख्खा खोकी, स्वासप्रस्वास छिटोछिटो चल्ने वा समास्या हुने यस भाइरसलागेपछिका लक्षण हुन् भने रोगले च्यापेमा निमोनिया, किड्नी फेलर भइ मान्छेको मृत्यु समेत हुने गर्दछ । रोगसंग लड्ने क्षमता कम भएका, बढी तनावमा रहने, उच्चरक्तचाप , डाइविटिज, मुटुको रोग वा सेतो रगत कोषिका कम संख्यामा भएका व्यक्तिहरुमा बढी देखिएको छ । हालसम्म कुनै निदानको उपाय ननिस्किसको यो भाइरसका लागि सामान्य लक्षणउपर मात्र उपचार सम्भव भएको चिकित्सकहरुले बताएका छन ।

चिकित्सकका अनुसार सकेसम्म रोग देखिएका ठाउँ र मानिसबाट पर नै रहने, सर्जिकल वा एन ९५ मास्क लगाउने , नियमित साबुन पानीले हात धुने, खोक्दा वा हाक्छ्युँ गर्दा नाक र मुख छोप्ने, जंगली वा घरेलु पशुपंछीसग सिधै सम्पर्क नगर्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, व्यक्तिगत र पारिवारिक हाइजिन व्यवस्थापन गर्ने र फ्लूको जस्तो लक्षण देखापरे नजिकको स्वास्थ्य केन्द्र जाने गरेमा भाइरस बाट बच्न सकिने जानाइएको छ ।

हुन त यस्ता किसिमका महामारी नौला होइनन्, १४ औं शताब्दीको “ब्लाक डेथ” ले करिब एक तिहाई मानिसको ज्यान लिएको थियो भने वार्षिकरुपमा रुघाखोकीले मात्रै हजारौंको ज्यान लिइररहेको आँकडा अहिले पनि प्रस्टै आइरहेका छन् । फ्लू, ट्युवरकोलोसिस, मलेरिया, प्लेग, झाडा, हैजा इत्यादि जनावरबाट मान्छेमा सर्ने रोगहरु जो वर्तमान इतिहासमा मानिसको पहिलो नम्बरको हत्यारा भनेको यिनै जीवाणु देखिएका छन ।

हामी यस्ता किसिमका महामारीसग लड्दै र जित्दै आएका छौं । पक्कै पनि विगतको स्वास्थ्य अवस्था र सुविधा ज्यादै विकसित भएपनी मान्छे र प्रकृतिविचको लडाइँ पक्कै मान्छेको लागि सजिलो भने छैन । हामीसंग हतियार दुइटा मात्र छन् बिज्ञान र धैर्य, अनि हामीसंग शान्त भएर समस्यासंग जुध्न र बिज्ञानका प्रयोगलाई धैर्य भएर कुर्नबाहेक विकल्प छैन । यतिबेला, चीनले उहानमा मात्रै दुई विशेष किसिमका प्रती १००० सय्याका अस्पताल १० दिनभित्र बनाउँदैछ जसले २००० आसपासका कोरोना संक्रमित बिरामीलाई राखेको उपचार गर्ने छ ।

यो एउटा समाधानको पाटो हो, जसले सामान्य रुघाखोकी लागेका मान्छे र यकिन कोरोना संक्रमित मान्छेलाइ छुट्टाछुट्टै राख्नेछ र स्थितिलाई थप संयमित बनाएर उपचार गर्नेछ । यत्तिवेला हजारौं शारीरिक, मानसिक र प्रोफेसनल्ली तयार मेडिकल स्टाफहरु चीनभरिबाट उहानको समस्यासंग जुधिरहेका छन् । चीन सरकारले हर तह र तप्काबाट समस्यासग जुध्ने सामर्थ्य देखाइरहेको छ ।

हालसम्म यस नोवल कोरोना भाइरस ३ जना नेपालीमा पनि देखिएको पुष्टि भैसकेको छ भने नेपाल सरकारको तर्फबाट उचित व्यवस्थापन वा भैपरी आउन सक्ने महामारीको लागि पुर्वतयारी देखिएको छैन । हामीजस्तो विकासशील मुलुकको लागि यस्ता समस्या देखिएमा अझ विकराल रुप लिन सक्ने देखिन्छ । पर्याप्त अध्ययन अनुसन्धानका लागि उपयुक्त उपकरण नहुनू, दक्ष जनशक्ति शहर केन्द्रित हुनु वा अभाव हुनु, अस्पतालमा विशेष किसिमका वार्डहरु नहुनुले हामी यस्ता समस्यासंग जुध्न सक्छौं भन्ने अवस्था छैन ।

नेपालले अझ भ्रमण वर्ष २०२० मनाइरहँदा अझ विशेष ध्यान यसतर्फ पुर्याउन नसके स्थिति झनै विकाराल हुनसक्ने देखिन्छ । यो भाइरसको १४ दिने इन्कुवेशन अवस्थाको कुनै पनि क्षणमा रोग देखापर्ने सक्ने वा अन्यमा सर्ने सक्ने अध्ययनले देखाउदै गर्दा, संक्रमित र संक्रमण हुनसक्ने कुनै पनि तार्गेट वर्ग वा जोनलाइ विशेष ध्यानमा राखेर थप पुर्वतयारी अपनाउनु नै देश र नागरिकको हितमा रहनेछ ।

सुन्दर भविष्यको सपना लिएर छात्रवृत्तिमा अध्ययनका लागि आएका म र मजस्ता विद्यार्थीहरु उच्च मनोबलका साथ उहानको साथमा बसिरहेका छौं । हामीले अहिले खाद्यान्न लगायतका आधारभुत सामग्रीको जोहो गरेका छौं । भोलिको दिनमा अभावको स्थिति आएमा विश्वविद्यालयले पूरा गर्छौं भन्ने आश्वासन दिएको छ । विश्वविद्यालय पुर्ण रुपमा ठप्प भए पनि कोठामा बसेर पढ्ने र केही सकारात्मक कामकारबाहीमा हामी लागेका छौं । हाम्रो परिवार, साथिभाइ, नातागोता तथा शुभचिन्तकसग प्रत्यक्ष कुराकानीमा छौं र चिन्ता नगर्न भनेका छौं । आशा छ, यो भयको अवस्था चाँडै अन्त्य हुनेछ ।

यो लेख तयार गर्दासम्म नोवल कोरोना भाइरसको जिनोम आइसोलेट भैसकेको र बैज्ञानिकहरु यसको विरुद्ध भ्याक्सिन बनाउन जुटिसकेको भन्ने कुरा Chinese Center for Disease Control and Prevention ले जनाएको छ, साथै विश्वभरी हाल ३ भिन्नाभिन्नै प्रोजेक्ट नोवल कोरोना विरुद्धको भ्याक्सिन बनाउन जुटेका छन् ।  जसमा अमेरिकी National Institute of Health ले Moderna भन्ने कम्पनीसंग सहकार्य गरि काम सुरु गरेको छ भने अस्ट्रेलियामा कुइन्सल्याण्ड विश्वविद्यालय ले अनुसन्धान सुरु गरेको छ । त्यस्तै Public Health Agency of Canada ले पनि Vaccine and Infectious Disease Organization (VIDO-InterVac) लाई भ्याक्सिनसम्बन्धि काम गर्न अनुमती दिएको छ ।

सौरभ लुइटेल

सुन्दरहरैचा नगरपालिका, मोरङ

हाल : ह्वाचोङ कृषि विश्वविद्यालय,

स्नातकोत्तर  तह

 उहान, चाइना

Email: Luitelagri@gmail.com

 (यो लेख २८ जनवरी २०२० सम्म प्रकाशित भएका आधिकारिक लेखबाट तयार गरिएको हो )

Facebook Comments