Sat. Oct 19th, 2024

दसौं संस्करणको ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने

काठमाण्डौं, २०७९ भदौं १० गते शुक्रबार । यस वर्ष आयोजना गरिने ‘मिस ग्रान्ड नेपाल २०२२’ को तयारी सुरु भएको छ । सन् २०१३ देखि आयोजना हुँदै आएको मिस ग्रान्ड नेपालको यस पटक दशौँ संस्करण हुने आयोजकले विहीवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

यस पटक बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने गरिने भएको छ । विगत चार वर्षदेखि बोली क्लब ग्रुपले प्रतियोगिता आयोजना गर्दै आएको छ । यसपटकको ‘मिस ग्रान्ड नेपाल २०२२’ हिंसा र युद्ध रोकौँ भन्ने मूल नारासहित आयोजना गरिने मिस ग्राण्ड नेपालका राष्ट्रिय निर्देशक सुरेश तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको भदौ ११ गतेबाट अडिसन सुरु हुने र १३ गते छनौट गरिने छ । भदौ १४ गते सहभागीहरूलाई अभिमुखीकरण गराइने उहाँले बताउनु भयो । प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका देशभरका युवतीले भाग लिन पाउनेछन् ।

सहभागी युवतीको उचाइ ५:४ इन्च र  प्लस टु २ पास गरेको हुनुपर्ने छ । मिस ग्रान्डमा प्रथम हुने युवतीले इण्डोनेशियाको बाली र जाकार्तामा अक्टोबर ४ देखि २५ सम्म हुने कार्यक्रममा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो  । त्यसैगरी विजेताले पाँच लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाप्त गर्ने छन् ।

प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, र्‍यापर आशीष राना (लाहुरे), नायिका आँचल शर्मा, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा (पूर्वमिस ग्राण्ड नेपाल) निर्णायक रहने तय भएको छ । केही निर्णायक थप हुन सक्ने उहाँको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम शाहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताउनु भयो । त्यस्तै र्‍यापर लाहुरेले गीत गाइरहेको भए पनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताउनु भयो ।

ग्रान्ड फिनाले भदौ २५ गते काठमाडौँस्थित होटेल मेरियटमा हुनेछ । प्रतियोगिताले मुख्यतया नेपाली युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सर्वाङ्गीण व्यक्तित्व विकास गर्न सहयोग गर्ने आयोजकको विश्वास छ । बोली क्लब ग्रुप र कस्मो इभेन्ट्सले विभिन्न समयमा सांगीतिक कार्यक्रम पनि गर्दै आएका छन् । मिस ग्राण्ड नेपाल मिस ग्राण्ड इन्टरनेशनलको मान्यता प्राप्त इभेन्ट्स हो ।

Facebook Comments