Sat. Oct 19th, 2024

रुसमा १० वटा बच्चा जन्माउने आमालाई १० लाख रुबल

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं २ गते बिहीबार । रुसको घट्दो जन्मदरलाई रोक्न राष्ट्रपति भ्लादिमिर पुटिनले १० वा सोभन्दा बढी बच्चा जन्माउने आमालाई पुरस्कार दिने घोषणा गर्नुभएको छ । राष्ट्रपति पुटिनले जन्मदर बढाउन जोसेफ स्टालिनले लागू गर्नुभएको नीतिलाई पुनः निरन्तरता दिने निर्णय गर्नुभएको छ ।

दोस्रो विश्वयुद्धमा रुसले ठूलो क्षति बेहोरेपछि तत्कालीन राष्ट्रपति जोसेफ स्टालिनले ‘मदर हिरोइन’ पुरस्कारको नीति अवलम्बन गर्नुभएको थियो । सोभियत संघको पतनपछि खारेज गरिएको यो पुरस्कार रुसले युक्रेनसँग जारी युद्धको बीचमा पुनः स्थापित गरिएको छ । नयाँ नियम अनुसार १० वा सोभन्दा बढी बच्चा जन्माउने रुसी आमालाई १० लाख रुबल पुरस्कार स्परुप प्रदान गरिने भएको छ ।

‘द मस्को टाइम्स’का अनुसार सन् १९९१ सम्म ४० लाखभन्दा बढी रुसी नागरिकले यो पुरस्कार प्राप्त गरेका थिए । सोभियत संघको पतनपछि यस पुरस्कारलाई खारेज गरिएको थियो । राष्ट्रपति पुटिनले देशको तीव्र जनसंख्या गिरावटलाई समाधान गर्नका लागि विभिन्न उपायहरू आवश्यक रहेको बताउनु भएको छ ।  ती उपायहरूमध्ये “मदर हिरोइन” घट्दो जन्मदरलाई रोक्ने मूल मन्त्र रहेको राष्ट्रपति पुटिनले ‘द मस्को टाइम्स’मा उल्लेख गर्नुभएको छ ।

१० वा सोभन्दा बढी बच्चा जन्माउने रुसी आमाहरूले आफ्नो दशौं बच्चा एक वर्ष पुगेपछि १० लाख रुबल एकमुष्ट भुक्तानी पाउने भएका छन् । तर, उक्त रकम दाबी गर्दा ती आमाका अन्य नौ बच्चा जीवितै हुनुपर्ने छ । यद्यपि आतंकवादी हमला वा सशस्त्र द्वन्द्वमा परी मृत्यु भएकाको हकमा भने पुरस्कार रकम उपलब्ध गराइने छ । ‘मदर हिरोइन’ उपाधिका विजेताले रुसी झण्डाले सजाइएको स्वर्ण पदक पनि पाउने छन्  ।

हालैका वर्षहरूमा रसियामा जन्मदरमा गिरावट आएको छ । सन् २०२२ मा त्यहाँको जनसंख्या ४ लाखले घटेर १ सय ४५ दशमलव १ मिलियन पुगेको छ । गिरावटको दर २०२१ यता झण्डै दोब्बरले बढेको ‘द मस्को टाइम्स’ले जनाएको छ ।

Facebook Comments