Sat. Oct 19th, 2024

विद्यार्थी चढेको डुंगा राप्ती नदीमा पल्टिदा तीन जना घाइते

भिओके समाचार/लमही, २०७९ भदौं २ गते बिहीबार । लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारि राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थीहरू डुंगा दुर्घटनामा परेर घाइते भएका छन् । बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेका छन् । तीमध्ये तीन जना विद्यार्थीहरूले बढी पानी खाएका कारण अवस्था जटिल रहेको छ भने उनीहरूको उपचार लमहीमा भइरहेको छ।

लमही नगरपालिका-९ तरूलियाका सिक्टा माविमा  कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको लमहीमा उपचार जारी रहेको छ । हाल उनीहरूको अवस्था खतरामुक्त रहेको छ ।

६/७ जना बस्न मिल्ने र माछा मार्नका लागि निर्माण गरिएको सानो डुंगामा क्षमताभन्दा बढी विद्यार्थीहरू एकैसाथ तार्ने प्रयास गर्दा डुंगा पल्टिएको छ ।

राजपुर गाउँपालिका- ७ राताकाँसका दिनाराम विकले डुंगा चलाएको प्रहरीले जानकारी दिएको छ । विद्यालय जान थालेका विद्यार्थी सवार डुँगा पल्टिए पछि उनीहरूको कापी, किताब, झोला सबै भिजेर काम नलाग्ने भएका छन् । डुंगा पल्टिएको देखेपछि स्थानीयले बालबालिकाहरूको उद्धार गरेका थिए।

Facebook Comments