Fri. Dec 27th, 2024

भोलिको संसदमा प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगबारे छलफल हुने

काठमाण्डौं, २०७९ साउन २१ गते शनिबार । प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ ।

भोलि आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निलम्बित जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो । सङ्घीय संसद सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीमा जबरामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।

कार्यसूचीको बुँदा नम्बर ४ मा ‘‘मिति २०७८ फागुन २९ गतेको बैठकमा सांसद देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने ।’’ उल्लेख छ ।

सर्वाेच्चका प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ गते महाभियोग दर्ता भएको थियो । सो प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ् र जीवनराम श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । महाभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वतः निलम्बन हुने व्यवस्था छ ।

त्यसयता महाअभियोगको प्रस्तावमाथि छलफल अघि बढ्न सकेको थिए । यद्यपि, भोलि बस्ने बैठकमा छलफल हुने उल्लेख छ । यसअघि २०७४ साल वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

त्यस्तै, भोलिको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउनेलगायतका कार्यसूची रहेको छ । गोरखापत्र अनलाईन

Facebook Comments