Sat. Oct 19th, 2024

सर्पले डसेका युवकले सघन उपचार नपाउँदा मृत्यु

महोत्तरी, २०७९ साउन १५ गते आइतबार । सर्पदंशका बिरामी एक ३२ वर्षीय युवकको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ । सिन्धुली घर भई बर्दिबास-४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन् ।

श्रेष्ठ बर्दिबास-४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक हुनुहुन्थ्यो । करिब मध्यराततिर सर्पले डसेको थाहा पाउनासाथ परिवारजनले बर्दिबास-३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्‍याएका थिए । गम्भीर अवस्थाका श्रेष्ठलाई भ्यान्टिलेटरको सघन उपचार आवश्यक भएको केन्द्रका प्राविधिकले बताएपछि जनकपुर पुर्‍याइएको थियो ।

झुल नलगाई सुतेका श्रेष्ठलाई घरको छानाबाट झरेको गोमन सर्पले घाँटीमै डसेको थियो । गोमनको डसाइले गम्भीर बनेका श्रेष्ठलाई भ्यान्टिलेटरमा सघन उपचारको आवश्यकता दर्शाउँदै सर्पदंश उपचार केन्द्रका प्राविधिकले जनकपुर लैजान सुझाएपछि उहाँलाई जनकपुर पु¥याइए पनि उपचार हुन भ्याएन । प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका हुन् ।

“सर्पदंशको घटनालगत्तै बर्दिबासमै भेन्टिलेटरको सघन उपचार पाएको भए ज्यानको आशा रहने थियो”, सर्पदंश उपचार केन्द्र बर्दिबास-३ गौरीडाँडा सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटा भन्नुहुन्छ, “दुःखका साथ भन्नुपर्छ, हामीले भेन्टिलेटरको प्रबन्ध गर्न सकेनौँ ।” विगतदेखि बर्दिबास नगरपालिका नेतृत्व र मन्त्रालयसम्म यो सुविधाको माग कैयौँ पटक गरिए पनि कसैले चासो नदिएका अध्यक्ष देवकोटाको गुनासो छ । सर्पदंशका बाक्लै घटना हुने बर्दिबास क्षेत्रमा पछिल्लो घटनासहित एक महिनाभित्रै तीन जनाको मृत्यु सघन उपचार नपाएरै भइसकेको छ ।

तीन दिन पहिले एक जना र गत असारको तेस्रो साताको अन्त्यतिर एक गरी दुई जनाको भ्यान्टिलेटरको सघन उपचार नपाएरै मृत्यु भएको थियो । यसैबीच बर्दिबासमा नागरिक समाजका प्रतिनिधिले भ्यान्टिलेटर व्यवस्थापनका लागि नगर नेतृत्व र आफ्ना क्षेत्रका सङ्घीय सांसद (प्रतिनिधिसभा सदस्य) गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराएका छन् । रासस

Facebook Comments