Fri. Oct 18th, 2024

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जालाई प्रदान

काठमाण्डौं, २०७९ जेठ १७ गते मंगलबार । अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) लाई प्रदान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डले आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा कीर्तिमानी आरोही पुर्जालाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो। उक्त पुरस्कार रु एक लाख नगद राशिको रहेको पर्यटन बोर्डका महानिर्देशक तारनाथ अधिकारीले जानकारी दिनुभयो।

यसैगरी पर्वतीय पर्यटनमा उल्लेखनीय योगदान गर्ने र विभिन्न कीर्तिमान कायम गर्ने टासीलाक्पा शेर्पा, मिङमाग्याल्जेन शेर्पा, खिमलाल गौतम र दावा शेर्पालाई रु ५० हजार नगद राशिको तेञ्जिङ हिलारी पुरस्कार प्रदान गरिएको छ।

पुरस्कृत आरोहीहरुले आफूले पाएको पुरस्कारबाट सगरमाथा आरोहणमा अझै थप कीर्तिमान कायम गर्न साहस प्राप्त भएको बताएका छन्। आईतबारदेखि सगरमाथामा मानव पाइला राखेको ६९ वर्ष पूरा भएको छ। उक्त अवसरको आयोजनामा आईतबार पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले काठमाण्डौंको ठमेलदेखि कमलादीसम्म -याली आयोजनासमेत गरेका थिए।

Facebook Comments