Mon. May 6th, 2024

अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेदवार बनायो

काठमाडौं, २०७६ माघ ५ गते आईतबार

नेता अग्नि सापकोटालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सभामुख उम्मेदवार बनाएको छ । नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवार सापकोटालाई बनाउने निर्णय गरेको हो ।

नेकपाले उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधि सभाले सभामुख पाउने बाटो खुलेको छ । नेकपाले सभामुख उम्मेदवारको नाम टुंगो लगाउन नसक्दा एक महिनादेखि संसद बन्धक जस्तै बनेको थियो ।

सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ। प्रधानमन्‍त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान भएको तीन घन्टा लामो छलफलपछि सभामुख चयनको विषय अनुमोदन नेकपा सचिवालय बैठक बसेको थियो ।

तत्कालीन माओवादीको भागमा सभामुख भएकोले माओवादीबाटै सभामुख चयन गर्ने सहमति दुई अध्यक्षबीच भएको थियो । त्यसलाई औपचारिकता दिन बसेको सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको हो ।

बालुवाटार वार्तापछि अध्यक्ष प्रचण्डले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतसँग परामर्श गर्नुभएको थियो ।

सभामुख चयनमा पार्टीभित्रको आन्तरिक किचलोका कारण झन्डै एक महिना संसद बन्धकजस्तै भएको छ। पार्टी सचिवालयले सभामुखको नाम टुंगो लगाएपछि स‌ंसदको भोलिको बैठकमा सभामुख निर्वाचनसम्बन्धी कार्यक्रम पेस हुनेछ ।

सभामुखका लागि नेकपाभित्रैबाट सुवास नेम्वाङ, उपसभामुख शिवामाया तुम्बाहाङफेको नाम पनि चर्चामा थियो । सभामुखका लागि दाबेदारी गर्दै आउनु भएकी उपसभामुख शिवामायालाई राजीनामा दिन पार्टीले औपचारिक रुपमा निर्देशन दिएको थियो । उहाँले पार्टीले सभामुख टुंगो लगाएपछि मात्र राजीनामा दिने अडान लिनु भएको थियो ।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार संसद‌्‌को हिउँदे अधिवशेन पुस ४ गते प्रारम्भ भए पनि नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा लगातार पुस ११, १७ र २७ गते तीन सूचना टाँसेर बैठक स्थगित भएको थियो ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि जेल चलान भएपछि सभामुख पद खाली छ ।

Facebook Comments