Fri. Oct 18th, 2024

केपी ओली भन्नुुहुन्छ, “सुशासन र समृद्धिका लागि एमाले”

काठमाण्डौं, २०७८ चैत ३० गते बुधबार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, सुशासन र समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको बताउनुभएको छ । बुधबार सुनसरी सदरमुकाम इनरुवामा एमालेले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।

देशमा विकास, समृद्धि र सुशासनका लागि एमाले बाहेकको विकल्प नरहेको दावी उहाँले गर्नुभयो । विभिन्न संस्कृति, संस्कार, भाषाभाषी र भूगोलमा बस्ने नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्तानिहीत गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको उहाँले चर्चा गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले नेपालमा रेल चलाउने, भुकम्पबाट प्रभावित भएकालाई बस्ने घर, धरहरा, रानीपोखरी, ध्वस्त भएका धार्मिक स्थलहरु र महत्वपूर्ण क्षेत्रको पूनरनिर्माणको काम एमालेले गरेको दावी गर्नुभयो । उहाँले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

फरक प्रसंगमा स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकाहरुले स्थानीय आवश्यकतामा आधारित विकास गर्ने भएकाले एमालेका उम्मेदबारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । मुलुकको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने उहाँले बताउनुभयो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले गरेका राम्रा काम जनताका बीचमा राखेर लैजानुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कैयौ अस्पातलहरुको सिलान्यास एकसाथ गरिएको, कयौ जिल्ला सदरमुकामदेखि पालिकासम्म जोड्ने सडक कालोपत्रे गर्न शिलान्यास गरेका छौं, त्यसको निरन्तरताको खाँचो छ ।’ ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको स्मरण गर्नुभयो ।

२०५१ बाट एमाले सरकारका पालामा मासिक १०० रुपियाँले सुरु गरिएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले मासिक ४ हजार पुगेको उहाँले चर्चा गर्नुभयो । आफू नेतृत्वको पालामा कर्मचारीको तलब बृद्धि समेत गरेको बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments