Tue. May 7th, 2024

सभामुखको उम्मेदवार चयन गर्न नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, २०७६ माघ ५ गते आईतबार

तिनिधिसभाका रिक्त सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न शुरु भएको छ ।

सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा गत पुस ११, १६ र २७ गतेका प्रतिनिधिसभाका बैठक स्थगन भई सोमबारका लागि तोकिएको छ ।

गोरखापत्र अनलाईनका अनुसार आजको सचिवालय बैठकअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सो विषयमा परामर्श भएको थियो ।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन नेकपा सचिवालयको यसअघिको बैठकले आग्रह गरिसकेको थियो ।

गत पुस ४ गतेदेखि सङ्घीय संसद्को पाँचौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक शुरु भए पनि नियमित रुपमा नचली स्थगन हुँदै आएको छ ।

संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिनुभएको थियो । महरा हाल उहाँ पुर्पक्षका लागि थुनामा हुनुहन्छ ।

सत्तारूढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेकाले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ ।

सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखका लागि पूर्व एमालेबाट सुवास नेम्वाङको नामले चर्चा पाएको छ भने पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ । तर कृष्ण बहादुर महरा माओवादीको तर्फबाट सभामुख बन्नु भएकोले अग्नि सापकोटाको सम्भावना सभामुख पदका लागि सुवास नेम्वाङको भन्दा दरिलो देखिने विश्लेषकहरुको विश्लेषण छ । अर्कोतिर सामाजिक सञ्जालमा पनि अग्नि सापकोटालाई सभामुखको लागि अग्रिम बधाई दिनेहरुको संख्या बढिरहेको छ ।

Facebook Comments