Sun. May 19th, 2024

कोरोना फेरी बढ्यो : चीन, अमेरिका जर्मनी, फ्रान्स, दक्षिण कोरियामा दैनिक लाखौं संक्रमित

काठमाण्डौं, २०७८ चैत १६ गते बुधबार । क्रमिक रुपमा मत्थर हुँदै गएको कोरोना भाइरसको संक्रमण पुन बढ्न थालेको छ । प्रयाप्त मात्रामा खोपको उत्पादन तथा वितरण गरिएको भए पनि कोरोनाको संक्रमण भने घट्नुको साटो उल्टो बढ्न थालेको हो । विश्व स्वास्थ्य संगठन तथा जोन हप्किन्स विश्व विद्यालयले सार्वजनिक गरेका पछिल्लो २४ घण्टाको तथ्याङ्कमा अमेरिका जर्मनी, फ्रान्स, दक्षिण कोरिया लगायत मुलुकहरुमा एकै दिन लाखौंको संख्यामा नयाँ संक्रमित थपिन थालेका छन् ।

तथ्याङ्क अनुसार जर्मनीमा एकै दिन २ लाख ३७ हजार संक्रमित थपिएका छन् भने फ्रान्समा पनि २ लाख ३७ हजार संक्रमित एकै दिन थपिएका छन् । यसैगरी बेलायतमा ८० हजार बढी संक्रमित आज थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा विश्वमै धेरै संक्रमित र मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा दक्षिण कोरियामा एकैदिन सबैभन्दा बढी ३ लाख ४७ हजार बढी कोरोना संक्रमित थपिएका छन् । कोरियामा ४३२ जनाको मृत्यु पनि भएको छ । यस्तै जापानमा ४४ हजार र थाइल्याण्डमा २५ हजार बढी संक्रमित थपिएका छन् ।

मृत्युदर कम देखिए पनि संक्रमणदर बढ्नु चिन्ताको विषय भएको विज्ञहरुले औल्याएका छन् ।

यसैबीच संक्रमितको आकँडा सार्वजनिक नगरेको चीनको संघाइमा दोस्रो चरणको लकडाउनको तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा त्यहाँ कोरोना नियन्त्रणका लागि दुई चरणमा लकडाउन गरिएको छ ।

Facebook Comments