Fri. Oct 18th, 2024

युक्रेन रुस युद्ध : रुस जाने बाटो खोलिदिने पुटिनको प्रस्ताव, युक्रेन आक्रोशित

काठमाण्डौं, २०७८ फागुन २३ गते सोमबार । युक्रेनी नागरिकलाई अन्यत्र जान दिन युद्धविराम गर्ने रुसको प्रस्तावलाई युक्रेनले ‘अनैतिक’ को सङ्ज्ञा दिएको छ।

रुसले किएभबाट मानिसहरूलाई बेलारुस र खार्किभबाट रुस जाने बाटो खोलिदिने प्रस्ताव गरेको छ । घेराबन्दीमा परेका मारिऊपोल र सुमीबाट अरू युक्रेनी र रुसी सहर जाने बाटो जोडिन्छन् ।

रुसी फौजको निरन्तर गोलाबारीबीच युक्रेनी सहरहरूमा दशौँ हजार सर्वसाधारण फस्दा मानवीय सङ्कट गहिरिँदै गएको छ । रुसले अतिक्रमण गरेयता १५ लाखभन्दा बढी युक्रेनीले देश छोडिसकेका छन् । रुसी फौजहरूले अगाडि बढ्ने क्रम जारी राखे पनि युक्रेनी सैनिकहरूले अझै प्रतिकार गरिरहेको वाशिङ्टनस्थित सैन्य स्रोतहरूले जनाएका छन् ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले तनाव मत्थर पार्ने र घेराबन्दीमा रहेका युक्रेनी सहरहरूमा मानवीय सहायता पुर्‍याउन दिने प्रयासमा रुसी एवं युक्रेनी नेतासँग कुराकानी गर्नुभएको छ । परमाणु ऊर्जासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनी परमाणु केन्द्र तथा त्यसका पर्यवेक्षकहरू रुसी नियन्त्रणमा रहेकाबारे गम्भीर चासो व्यक्त गरेका छन् ।

संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने चर्चाबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ । बीबीसी

Facebook Comments