Fri. Oct 18th, 2024

कुटपिट गरी हत्या गरेकाे आराेपमा असईविरुद्ध जाहेरी दर्ता

काठमाण्डौं, २०७८ फागुन २२ गते आईतबार । कालीकोटको तिलागुफा नगरपालिका ३ का कृष्ण हमालको प्रहरीको कुटपिटबाट ज्यान गएकाे भन्दै मृतकका परिवारले प्रहरीमा जाहेरी दिएका छन् । मृतकका बुबा हिराचन्द्र हमालले आज आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह थामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिनुभएकाे हाे ।

अस्ति शुक्रवार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरकाे सुब्बाकुना प्रहरी चेकपोस्टमा असई धामीले मापसे गरेको भन्दै हमाललाई कुटपिट गरेको र कुटपिटका कारण ज्यान गएकाे आफन्तको आरोप छ । हमालको हिजाे शनिवार बिहान ज्यान गएकाे थियो । कुटपिटपछि बेहोस भएका हमाललाई वीरेन्द्रनगरमा रहेकाे सुर्खेत अस्पतालमा उपचारका लागि लगिएकाे र अस्पतालले प्रशासनले अस्पताल आउनुअघि नै ज्यान गएकाे जानकारी दिएको थियो ।

असई हमालविरुद्ध दर्ता गरिएको जाहेरीमा प्रहरीको कुटाइबाट मृतक हमालको शरीरको संवेदनशील भागहरू-घाँटी, छाती र कोखालगायका विभिन्न भागमा चोटपटक लागेर ज्यान गएकाे भन्दै असई धामीलाई कारबाही गर्न माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले असई धामीलाई पक्राउ गरेर अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले पनि घटनाको छानबिनका लागि समिति बनाएर काम सुरु गरिसकेको छ । उज्यालो अनलाईन

 

Facebook Comments