कमल थापाद्वारा पार्टी परित्यागको घोषणा
काठमाण्डौं, २०७८ माघ २५ गते मंगलबार । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । उहाँले पार्टीमा आफ्नो मागको सुनवाई नभएपछि पार्टी परित्याग गर्नु परेको बताउनुभएको छ ।
गृह नगर हेटौडा पुगेर थापाले एक विज्ञप्ति जारी गरी आफनो मागको सम्बोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको बताउनुभएको छ । विज्ञप्तिमा उहाँले राप्रपाका कुनै नेतासँग बैरभाव नभएको उल्लेख गर्नुभएको छ ।
‘अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीवाट अलग हुने निर्णय गरेको छु,’ थापाले उल्लेख गर्नुभएको छ, ‘पार्टी भित्र देखा पर्न थालेको सैद्धान्तिक बिचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरा बाँकी क्रियाशिल राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा मै रमाउने उत्कृष्ट चाहाना भएतापनि आफनो कुराको सुनुवाई नुहने भए पछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’
सोमवार काठमाडौंमा आफु निकट राप्रपाका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको अलग भेला गरेका अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा भने गृह जिल्ला मकवानपुर पुगेर गर्नुभएको हो ।
‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुवाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु’ थापाले पुर्व उपप्रधानमन्त्रीको हैसियतमा लेखेको पत्रमा भनिएको छ, ‘पार्टीमा रहदाँ बिताएका क्षणहरु प्रति म सदैव गौरब गरिरहनेछु, राप्रपाको कुनै साथीहरुसँग मेरो बैरभाव छैन, सबैको भलो होस भन्ने कामना गर्दछ ।’
थापा गत मंसिर १५–१८ मा भएको महाधिवेसनमा अध्यक्ष राजेन्द्र लिङदेनवाट पराजित हुनुभएको थियो । पुर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पराजित गराएको गुनासो थापाले गर्दै आउनुभएको थियो । उहाँले २७ मंसिरमा अध्यक्ष लिङदेनलाई पत्र लेखेर सो बिषयमा छानबिनको माग गर्नुभएको थियो । उहाँले १६ माघमा स्मरण पत्र लेखेको भए पनि सुनुवाई नभएको आरोप थापाले लगाउँदै आउनुभएको थियो ।