Thu. Jun 11th, 2026

सामाजिक सञ्जालमा अनुमतिबिना तस्बिर/भिडियो प्रकाशन गरेमा कारबाही

       

काठमाण्डौं, २०७८ माघ १३ गते बिहीबार । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमति बिना तस्बिर खिचेर र  ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति/अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको हो ।

सार्वजनिक स्थलमा ख्याल ठट्टाका नाममा गोप्य रूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृह मन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिक स्थलमा गरिएका भद्दा ख्याल ठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्न सक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको हो । रेडियो नेपाल

Facebook Comments

सम्बन्धित समाचार

1 min read