Sun. May 19th, 2024

नारायणहिटीमा सेटिङ नभएको बतास समूहको स्पष्टोक्ति, तथ्यहरु तोडमोड गरेको भन्दै सञ्चारमाध्यमसँग गुनासो

काठमाण्डौं, २०७८ पुस २८ गते बुधबार । नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्का कुनै सेटिङको आधारमा नपाएको बतास अर्गनाइजेसनले दावी गरेको छ । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको ठेक्का कुनै प्रभाव र दबावमा नपाएको भन्ने कुरा सम्झौताको भाषाले नै स्पष्ट हुने बुधबार एक विज्ञप्ति जारी गर्दै बताउनु भएको हो ।

तथ्यहरुलाई तोडमोड गर्ने र प्राप्त प्रमाणहरुलाई समेत गलत ढंगले व्याख्या, विश्लेषण र प्रस्तुत गर्ने देखि लिएर एउटा प्रमाण प्रस्तुत गर्दै अर्कै तर्क पेश गर्ने खालको कार्यहरु कतिपय सञ्चार माध्यामहरुले गरेको भन्दै बतास समुहले सञ्चार माध्यामहरुसँग गुनासो समेत पोखेको छ । जे–जसरी समाचारहरु प्रकाशित, प्रशारित भइरहेका छन् ती समाचारहरुका शीर्षकदेखि व्यहोरासम्ममा पुरापुर भ्रम र झुट मात्र प्रस्तुत भएको भन्दै बतास समुहले सञ्चार माध्यामहरुलाई आफ्नो विश्वसनियता नगुमाउन समेत आग्रह गरेको छ ।

‘बतास अर्गनाइजेशनले कुनै प्रकारको प्रभाव वा दबाव सिर्जना गरिएको थिएन भन्नेकुरा सम्झौता पत्रमा प्रयुक्त भाषाले नै स्पष्ट पारिरहेका अवस्थामा सो क्रममा ‘सेटिङ’ भएको भन्दै प्रचार गरिनु गलत भएको बतास समुहको दाबी छ ।

गोरखापत्र दैनिकमा प्रकाशित सूचनाको आधारमा मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बीपीएस लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच २०७७ पुस १७ गते सम्झौता गरेको बतासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

जम्मा तीन वर्षका लागि अत्यन्तै कडा शर्तहरुसहित क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ तीन करोडभन्दा बढी लगानी गरिसकेको उहाँले उल्लेख गर्नुभएको छ । तर आफूहरुले बनाएको संरचना गैरकानुनी ढंगले नष्ट गर्ने काम भएको भन्दै उहाँले भन्नुभएको छ , ‘हामी माथि राज्यले गरेको अन्याय र अपराधबारे समेत आम जनमानसलाई जानकारी गरिदिनुहुन यहाँहरुलाई अनुरोध गर्न चाहान्छौं ।’

बतासले नारायणहिटी संग्रहालय सम्बन्धमा बनेको छानबिन समितिले आफूहरुसँग सोधखोज नै नगरी एकतर्फी रुपमा पूर्वाग्रही भएर प्रतिवेदन दिएको पनि बताउनुभएको छ ।

Facebook Comments