Fri. May 17th, 2024

इरानका सैन्य कमाण्डर सुलेमानीको हत्यापछि मध्यपूर्वमा तनाब

काठमाडौं, २०७६ पुष १९ गते शनिबार ।

मध्यपूर्वमा बढ्दो तनाबका बीच अमेरिकाले कतारमा हुने फुटबलको प्रशिक्षण शिविर स्थगित गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इराकको बगदादमा इरानका सैन्य कमाण्डर कसिम सुलेमानीको हवाई आक्रमणमा मृत्यु भएपछि मध्यपूर्वमा तनाब बढेको छ । तर इरानले उक्त घटनाको प्रतिशोध लिने जनाएपछि मध्यपूर्वमा तनाब बढ्ने अनुमान गरिएको छ । इरानी सैन्य कमाण्डको मृत्युले तेहरान र वाशिंगटनबीच वाक्य युद्ध भने सुरु भइसकेको छ ।

अमेरिकी फुटबल टोलीले कतारको दोहामा जनवरी ५ देखि २५ सम्म प्रशिक्षण गर्ने तयारी थियो । भोलीदेखि प्रशिक्षण सुरु हुने भएपनि फुटबल अमेरिकाले अकस्मात् प्रशिक्षण स्थगित गर्ने निर्णयमा पुगेको हो ।गोरखापत्र अनलाईनका अनुसार फुटबल अमेरिकाले एक वक्तब्य जारी गरी प्रशिक्षणका लागि वैकल्पिक व्यवस्थामा विचार गरिरहेको जनाएको छ । वक्तब्यमा भनिएको छ, “कतार फुटबल संघसँग सहकार्य गरेर निकट भविष्यमा अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको खेलको लागि अवसर प्रदान गर्न छलफलमा छौं ।”

कतारले विश्वकप फुटबल २०२२ को आयोजना गर्दैछ । अमेरिकी फुटबल टोलीले फेब्रुअरी महिनामा क्यालिफोर्नियामा कोष्टारिकासँग स्पर्धा गर्नुअघि कतारमा प्रशिक्षण गर्ने कार्यक्रम रहेको थियो ।

Facebook Comments