Sat. Oct 19th, 2024

बागमती प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौं, २०७८ मंसिर २८ गते मंगलबार । बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको सिफारिसमा नियुक्त हुनुभएका मन्त्रीहरूलाई आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहका बिच प्रदेश प्रमुख यादवचन्द्र शर्माले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

प्रदेशमा गठबन्धनको सरकार गठन भएसँगै आज मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्दै एकीकृत समाजवादीबाट २ जना मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट ३ जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल हुनुहुन्छ । भने एकीकृत समाजवादीबाट खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपक्षी मन्त्रीमा वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपक्षी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङलाई जिम्मेवारी दिनुभएको छ ।

यो सँगै बागमतीमा मुख्यमन्त्री सहित ११ मन्त्री र एक राज्य मन्त्रीको सरकार बनेको छ । बागमती प्रदेशमा हाल ५ जना मन्त्री छन् । ८ मन्त्रालयलाई फुटाएर १४ मन्त्रालय बनाएसँगै मन्त्री नियुक्त गरिएको हो । रेडियो नेपाल

Facebook Comments