Fri. Oct 18th, 2024

अन्तरिक्षमा गल्फ खेल्ने यात्रामा जापानी अर्बपति !

काठमाण्डौं, २०७८ मंसिर २३ गते बिहीबार । जापानी अर्बपति युसाकु मेजावा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसको यात्राका लागि बुधवार प्रस्थान गर्नुभएको छ । अन्तरिक्ष यात्रामा जाने अर्बपतिको सूचीमा थपिँदै मेजावाले त्यहाँ गल्फ खेल्नेसहित १०० वटा कुरा गर्ने बताउनु भएको छ ।

जोजोटाउनजस्ता ईकमर्श कम्पनीहरूमार्फत धनी बन्नु भएका मेजावा कुनै बेला एउटा रक सङ्गीत टोलीका ड्रमर रहनु भएको थियो र उहाँले गत वर्ष अन्तरिक्ष यात्रामा सँगै जान प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम आयोजना गर्नुभएको थियो। उहाँले सो कार्यक्रम पछि रद्द गर्नुभएको थियो ।

काजाखास्तानबाट उहाँलाई बोकेको एउटा रुसी रकेट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो। लामो समययता पहिलो अन्तरिक्ष पर्यटक बनेका उहाँले आईएसएसमा १२ दिने बिताउने बताइएको छ। उहाँले सन् २०२३ मा चन्द्रमाको यात्रा गर्न सुरु गरेको अभियानको एउटा कदमको रूपमा यसलाई लिइएको छ।

बुधवार मेजावासँगै रुसी अन्तरिक्षयात्री एलेक्जान्डर मिसुर्किन र भिडिओ निर्माता योजो हिरानो रकेटमा हुनुहुन्थ्यो। हिरानोले मेजावाको यूट्यूब च्यानलका लागि यात्राको भिडिओ खिच्नुहुनेछ ।

मेजावाले यात्राअघि कठिन तालिम गर्नुभएको थियो। तालिमका क्रममा उहाँलाई तेस्रो खाटमा सुत्न, घुमिरहेको मेचमा बसिरहन र लामो समय ब्याडमिन्टन खेल्न लगाइएको थियो। ती सबै अभ्यास उहाँले आफ्नो सामाजिक सञ्जालमा राख्नु भएको छ । बीबीसी

Facebook Comments