Fri. Oct 18th, 2024

आजदेखि बाघ गणना सुरु गरिन्दै

काठमाण्डौं, २०७८ मंसिर १९ गते आईतबार । आजदेखि राष्ट्रिय बाघ गणना, २०७८ सुरु गरिदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुने भएको छ । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या २३५ थियो । यस पटकको गणनामा २ सय ५० भन्दा बढी पुग्ने विश्वास गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट वेदकुमार ढकालका अनुसार गणनाका लागि दक्ष प्राविधिकको १३ वटा टोली बनाएर शनिबारै फिल्डमा खटाइसकिएको छ । दक्ष प्राविधिक १ सय २० जनालाई बाघ गणनासम्बन्धी विशेष प्रशिक्षण दिइएको छ ।

आइतबार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनामा प्रयोग गरिने अत्याधुनिक क्यामरा चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा राखेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । क्यामरा ट्रयाप विधिबाट बाघ गणना गरिन्छ । बाघको आवतजावत हुने, बस्ने, सिकार खेल्ने ठाउँको पहिचान गरी राष्ट्रिय निकुञ्ज, निकुञ्ज वरिपरिको मध्यवर्ती क्षेत्र तथा आसपासका जङ्गलमा क्यामरा राख्ने गरिन्छ ।

इकोलोजिस्ट ढकालका अनुसार एक ठाउँमा क्यामरा कम्तीमा १५ दिन राखिने भएका छन् । क्यामरा राखिएका नजिकै गणनामा सहभागी दक्ष प्राविधिकको टोली जङ्गलभित्रै बास बस्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “जङ्गलमा रातभर क्याम्प लिएर बस्दा बाघ, हात्ती, गैँडा जस्ता ठूला जङ्गली जनावरको डर हुने भएकाले नेपाली सेनालाई पनि सुरक्षार्थ खटाइएको छ । प्राविधिक टोली बस्ने ठाउँको अवस्था हेरी प्राविधिक टोलीसँग हात्तीको पनि प्रयोग गरिनेछ ।

यो वर्ष नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेका प्रतिबद्धताअनुसार बाघको सङ्ख्या २ सय ५० पु-याउने विश्वास गरिएको छ । पछिल्ला चार वर्षमा चोरी सिकार नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त हुनु, बासस्थानमा सुधार, बाघको आहार प्रजातिको पनि उल्लेख्य वृद्धिका कारणले यस पटक बाघको सङ्ख्या राम्रै भेटिने विभागका अधिकारीले बताएका छन् । गोरखापत्र अनलाईन

Facebook Comments