Sat. Oct 19th, 2024

नेकपा एमालेको विधान संशोधन पारित, नेता भीम रावलद्वारा फरक मत व्यक्त

सौराहा, चीतवन, २०७८ मंसिर ११ गते शनिबार । नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ । चितवनको सौराहामा जारी पार्टीको १० औं महाधिवेशनको बन्द सत्रबाट एमाले केन्द्रीय कमिटीले प्रस्ताव गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मत् पारित भएको हो । विधान संशोधन भएसँगै एमालेको केन्द्रीय कमिटीको आकार ३ सय १ सदस्यीय भएको छ ।

केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३ सय १ पुर्‍याउने निर्णय गरेको थियो । अब एमालेमा ९९ सदस्यीय पोलिटब्यूरो, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ जना उपाध्यक्ष र ३ जना उपमहासचिव हुने भएको छ । अनुशासन आयोग र लेखा आयोगलाई २५/२५ सदस्यीय बनाइएको छ ।

यसैबीच पार्टीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएकोमा उपाध्यक्ष भीम रावलले फरक मत राख्नु भएको छ । विधान महाधिवेशनको घोषाणविरुद्ध पदाधिकारी बढाएको भन्दै रावलको फरक मत आएको हो ।

Facebook Comments