Sat. Oct 19th, 2024

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आज सुरुहुँदै, भरतपुरमा लाखौं पार्टी कार्यकर्ताहरुको जमघट

भरतपुर, २०७८ मंसिर १० गते शुक्रबार । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चीतवनको भरतपुरमा सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे भरतपुरस्थित नारायणी नदीको किनारमा लाखौं कार्यकर्ताहरुको उपस्थितिमा महाधिवेशन उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा सहभागी हुँनएमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम अहिले पनि जारी छ । त्यसैगरी देशभरका मुख्य मुख्य सञ्चार माध्यमका प्रतिनिधिहरु पनि भरतपुर आईरहेका छन् । महाधिवेशनलाई भव्य बनाउन उद्घाटन समारोह हुने नारायणी नदी किनारमा अत्याधुनिक सुविधासहितको मञ्च निर्माण गरिएको छ । महाधिवेशनको बन्दसत्र भने नेपालकै प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक सौराहामा गरिँदै छ । उक्त बन्द सत्र भोलिदेखि सुरु हुनेछ ।

महाधिवेशनलाई भव्य बनाउन र पाहुनाहरुको स्वागत गर्न भरतपुरक्षेत्र र महाधिवेशनस्थलाई भव्य रुपमा सजाईएको छ । भरतपुरका मुख्य सडकहरुमा एमालेका रंगीन झण्डाहरु राखिएको छ भने झण्डै ५० वटा स्वागतदद्वार निर्माण गरिएको छ । नगरका विभिन्न स्थानबाट उद्घाटन समारोह हेर्नका लागि ठूला ठूला मोनिटरहरु जडान गरिएको छ । आज महाधिवेशस्थल वरपर आज विहानैदेखि मानिसहरुको चहलपहल बढेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा नवलपुरको गैडाकोटसहित विभिन्न ७ वटा स्थानहरुबाट जुलुश निकाल्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेलसहित केन्द्रीय कमिटीका अधिकांश नेताहरु हिजो नै चितवन आइपुग्नुभएको छ ।

एमालेमा निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुँदैछन् । कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।

महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५/१५ जना निर्वाचित गर्ने छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।

महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल-नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) र नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ ।  चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।

उद्घाटन सत्रमा लाखौँ कार्यकर्ता सहभागी हुने भएकाले प्रदर्शनका लागि गैँडाको मस्कटसहित केही सेल्फी प्वाइन्ट निर्माण गरिएका छन् ।

Facebook Comments