Fri. Apr 19th, 2024

सघन साझेदारीकालागि सन् २०२० महत्वपूर्ण :चिनियाँ राजदूत

काठमाडौं, २०७६ पुष १६ गते बुधबार ।

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दुई देशको सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै आगामी वर्षहरुमा सघन आर्थिक, सांस्कृतिक सम्बन्ध अघि बढ्ने बताउनु भएको छ । ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरले सोमबार काठमाडौंमा आयोजना गरेको ‘साझा संवृद्धिका लागि हिमालय सीमापार सम्पर्क सञ्जाल र सहयोग’विषयकगोष्ठीलाई सम्बोधनगर्दै राजदूत यान्छीले हिमालय सीमापार सम्पर्क सञ्जालले नेपाललाई भूपरिवेष्ठीत नभएर भूजडित बनाउन मद्दत गर्ने बताउनु भयो ।

उहाँले भूकम्प पछि बन्द रहेको चाङम्ु–तातोपानी सुख्खा बन्दरगाह हुँदै अरनिको राजमार्गबाट दुई देशबीच व्यापार सुचारु भैसकेको तथा रसुवागढी नाकातर्फको मजबुत सडक सञ्जालका लागि चीनले प्रतिवद्धता गरेको सहयोग कार्यान्वयनमा ल्याउने दोहोर्याउनु भयो । चीनले नेपाललाई केही सुख्खा बन्दरगाह र केही सामुद्रीक बन्दरगाहसम्मको पहुँचदिएर प्रशान्त महासागर हुँदै तेश्रो देशसँग व्यापार गर्न सहज बनाएको उल्लेख गर्नुभयो ।

‘राम्रो सडकले जनजीवनलाई सुखी बनाउँछ’ भन्ने चिनियाँ भनाईलाई उदृत गर्दै सम्बोधन शुरु गर्नु भएकी राजदूत यान्छीले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ यसमा आवद्ध राष्ट्रको साझा संवृद्धिको पहल भएकोमा जोड दिनुभयो । दीगो विकास लक्ष्य प्राप्ति तथा नेपालले सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य पूरा गर्न नेपाललाई चीनले पूर्वाधार, व्यापार, लगानी र पर्यटनका माध्यमबाट सघाउने राजदूतको भनाई थियो ।

उहाँले दुई देशका राष्ट्रपतिले एक अर्को मुलुकमा गरेको सद्भावना भ्रमणको चर्चा गर्दै सन् २०२० सघन साझेदारी अघि बढाउन दुवै मुलुकका लागि महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

 रेलबारे बोल्नै नहुने त होइनः रक्षामन्त्री पोखरेल

‘साझा संवृद्धिका लागि हिमालय सीमापार सम्पर्क सञ्जाल र सहयोग’ विषयक गोष्ठीका प्रमुख अतिथि रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले स्पष्ट भएर चीनसँग सम्पर्क सञ्जालमा रेललाई प्राथमिकतामा राखेको बताउनु भयो ।

‘रेल तत्काल आउँदैन भनेर अहिले बोल्नै नहुने त होइन,’ रक्षामन्त्री पोखरेलले भन्नुभयो, ‘तत्कालको प्राथमिकता सडक स्तरोन्नति भए पनि दीर्घकालमा चीन र नेपालबीच रेलमार्गको सञ्जाल स्थापित हुनेछ ।’ रक्षा मन्त्री पोखरेलले हिमालयवारिपारी सघन सम्पर्क सञ्जाल र द्विपक्षीय लगानी, व्यापार र सांस्कृतिक सम्बन्ध प्रवद्र्धन गर्न चीनको बेल्ड एण्ड रोड इनिसियटीभ (बीआरआई) महत्वपूर्ण हुने बताउनु भयो ।

पूर्व परराष्ट्रमन्त्री प्रकाश शरण महतले रेलमार्ग स्थापित गर्ने कुरा बढी भावनात्मक भएको भन्दै प्रतिफल हेरेर बीआरआईमा परियोजना प्रस्ताव गर्न सरकारलाई सुझाव दिनु भएको थियो । पूर्वमन्त्री महतले चीन र भारतले नेपाल मार्फत् व्यापार गर्न सहमत भएको खण्डमा मात्र रेलमार्ग सम्भाव्य परियोजना हुने बताउनु भयो ।

सन् २०१८ मा नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकमा चीन रहेको छ । सन् २०१८ मा नेपाल र चीनबीचको दुईतर्फी व्यापार ११५ अर्ब रुपैयाँ र चीनबाट नेपालमा लगानी ३५ अर्ब रुपैयाँ नाघेको छ ।

Facebook Comments