Sat. Oct 19th, 2024

अमेरिकी सहायक विदेशमन्त्री लू र प्रचण्डबीच भेटवार्ता, एमसीसीबारे छिटो निर्णयमा पुग्न प्रचण्डलाई आग्रह

काठमाण्डौं, २०७८ मंसिर ३ गते शुक्रबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) बारे छिटो निर्णयमा पुग्न आग्रह गर्दै सम्झौताको समयसीमा सम्झाएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

जवाफमा प्रचण्डले अमेरिकी सहयोग लिन्नौं भन्ने आफ्नो धारणा नभए पनि एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको बताउनु भएको उहाँले जनाउनु भयो ।

‘हामी सबै नेपालीहरुले एउटा साझा समझदारी बनाउने प्रयास गर्छौं, छलफल गर्छौं । यो विषय संसदमा पनि जान सक्छ र हुन्छ कि हुँदैनको विषय बन्न सक्छ । दलहरुले यसमा आफ्नो मत संसदभित्रै राख्ने अवस्था पनि आउन सक्छ ।’ भन्दै प्रचण्डले एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

प्रचण्डले एमसीसीको विषयमा माओवादी केन्द्रको मिहिनेत नेपालका सबै पक्षसँग छलफल गरेर साझा समझदारी बनाउनुमै हुने बताएको स्वकीय सचिव मल्लले जानकारी दिनुभयो ।

अमेरिकी पक्षले अनुदान सहयोग लिने वा नलिने बारेमा नेपाल छिट्टै निर्णयमा पुग्नुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो । जवाफमा प्रचण्डले यसबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने जवाफ दिएको मल्लले जानकारी दिनुभयो ।

Facebook Comments