Sat. Oct 19th, 2024

भारतले जनगणनाका गणकलाई छाङरु जान दिएन

काठमाण्डौं, २०७८ मंसिर २ गते बिहीबार । भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका-१ का छाङरु र नेपाल-चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि दार्चुला सदरमुकाम खलंगामा रोकिएका छन् ।

कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धार्चुलाबाट छियालेक–गर्ब्याङ हुँदै महाकाली नदीको पुल (सीता पुल) तरेर छाङरु जाने गरी पासको व्यवस्था मिलाउन भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । तर, एक सातासम्म पनि भारतीय प्रशासनले अनुमति दिएको छैन ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले पहिलोपटक कात्तिक २५ मा भारतीय बाटो हुँदै छाङरु जान पासको व्यवस्थाका लागि पत्राचार गरिएकामा कुनै जवाफ नआएको बताउनु भयो । पहिलो पत्रको जवाफ नआएपछि मंगलबार र बुधबार पुनः दुईवटा पत्र पठाइएको र त्यसको पनि जवाफ नआएको उहाँले जानकारी दिनुभयो । लिखित पत्राचारबाहेक प्रशासनले मौखिक रूपमा पनि अनुमति दिन भएको ढिलाइबारे भारतीय प्रशासनसँग कुरा गरेको थियो तर उताबाट ‘हुन्छ, प्राविधिक कारणले हो’ भन्ने जवाफमात्रै आएको प्रशासन स्रोतको भनाइ छ ।

भारतीय बाटो हुँदै छाङरु जान नदिएकोबारे दार्चुला प्रशासनले गृह मन्त्रालयलाई समेत मौखिक जानकारी गराइसकेको छ । जनगणनामा खटिएका अधिकारीहरूले तथ्यांक विभागलाई पनि यसको जानकारी गराएका छन् । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलले समेत भारतीयबाट भएको अवरोधबारे हेडक्वार्टरलाई जानकारी गराइसकेको छ । कान्तिपुर अनलाईन

Facebook Comments