Fri. Oct 18th, 2024

मुस्ताङमा आएको डरलाग्दो हिमपहिरोमा परी १५० वटा चौंरी हराए

काठमाण्डौं, २०७८ कात्तिक २८ गते आईतबार । हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा पर्ने टुकुचे हिमालमा हिमपहिरो जाँदा १५० भन्दा धेरै चौरीगाई हराएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार थासाङ गाउँपालिका कोबाङ माथि पर्ने टुचुके पिकबाट हिमपहिरो खसेको हो । प्रजिअ शर्माले भन्नुभयो “अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति भएको जानकारी छैन ।”

जनआदर्श माध्यमिक विद्यालय कोवाङका एक जना शिक्षक र ८ बिद्यार्थी गरी ९ जना सामान्य घाइते भएको प्रजिअ शर्माले बताउनुभयो । शर्माले भन्नुभयो “अहिलेसम्म अन्य क्षतिको विवरण आइसकेको छैन, सुरक्षा समितिका सबै हामी घटनास्थल नजिकै छौं, क्षतिको विवरण संकलन हुदैछ ।”

थासाङ गाउँपालिका– २ का अध्यक्ष नरप्रसाद हिराचनका अनुसार दुई परिवारको चौरी गोठ पहिरोले पुरेको छ । दुई जना कृषक सकेन्द्र गौचन र भीमप्रसाद थकालीले त्यस क्षेत्रमा १५० चौरी पालेकोमा आइतबार मध्यान्ह पौने १२ बजे हिमपहिरो जाँदा सबै चौंरी पुरिएको अध्यक्ष हिराचनले बताउनुभयो । वडा अध्यक्ष हिराचनका अनुसार हिमपहिरो जाँदा रत्नदेवी तुलाचनको घरमा क्षति भएको छ ।

प्रदेश सांसद महेन्द्र थकाली, चन्द्रमोहन गौचन, सुरक्षा समिति मुस्ताङका सदस्यहरु सबै घटनास्थलमा पुगेको गण्डकी प्रदेशसभा सांसद चन्द्रमोहन गौचनले बताउनुभयो । सांसद गौचनले क्षति कम गर्न र उद्धारमा खट्न सुरक्षा निकाय तथा युवाहरुलाई निर्देशन गरिएको बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments