Sat. Oct 19th, 2024

आजदेखि राष्ट्रिय जनगणना २०७८ सुरु

काठमाण्डौं, २०७८ कात्तिक २५ गते बिहीबार । राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना सुरु गरिने छ । प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने विभागले जनाएको छ । उहाँका अनुसार सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । सोको आधारमा जनगणना गरिनेछ ।

“जनगणनामा लिएका तथ्याङ्क सबै गोप्य रहन्छ”, विभागका महानिर्देशक श्रेष्ठले भन्नुभयो, “जनगणना राष्ट्रिय महाअभियान भएकाले सबैले ढुक्क भएर गणकले सोधेका प्रश्नको जवाफ दिनुपर्छ ।” यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ । बुधबार पत्रकार सम्मेलन गरी जनगणनाको सबै तयारी पूरा भएकाले बिहीबार बिहानैदेखि सबै गणकले घरघरमा पुगेर जनगणना गर्ने विभागले जनाइएको छ ।

यस वर्षको जनगणनामा सबै गणक दस जोर दुई अध्ययन गरेका बेरोजगार युवालाई सहभागी गराइएको छ । यस अगाडि शिक्षकहरूले गणकको रूपमा कार्य गरे पनि यस वर्ष कतिपय शिक्षकलाई प्रशिक्षकको रूपमा सहभागी गराइएको श्रेष्ठले बताउनुभयो । यस वर्ष जनगणनाका लागि काठमाडौँ महानगरपालिका सहित काठमाडौँका छवटा स्थानीय तहमा प्रविधियुक्त (ट्याबलेट)को प्रयोग गरिएको विभागले जनाएको छ ।

लिपुलेक र लिम्पियाधुरामा जनगणना हुने
केन्द्रीय तथ्याङ्क विभागले भारतको सिमाना जोडिएको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी गरेको छ । त्यसका लागि विभागले कूूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गरिरहेको छ । यस अवधिमा उक्त कूूटनीतिक प्रयासबाट उक्त क्षेत्रमा जनगणना गर्नसकिने वातावरण बन्ने महानिर्देशक श्रेष्ठले अपेक्षा गर्नुभयो । सोही स्थानमा गणक जान नसके स्याटलाइटको माध्यमबाट सो क्षेत्रमा घरको गणना गर्ने र एउटा घरमा औसत रूपमा बसोबास गर्ने परिवारको सङ्ख्याका आधारमा भए पनि तथ्याङ्क निकालिने उहाँले बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments