Sat. Oct 19th, 2024

बेलारुस आप्रवासी सङ्कटको मुख्य योजनाकार पुटिन रहेको पोल्याण्डको आरोप

काठमाण्डौं, २०७८ कात्तिक २४ गते बुधबार । पोल्याण्डका प्रधानमन्त्रीले आफ्नो देशको बेलारुससँगको सीमामा उत्पन्न आप्रवासी सङ्कटको पछाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेको आरोप लगाउनु भएको छ ।

माटयुस मोराभियस्कीले पुटिनका निकट साझेदार बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्काले यस्तो सङ्कट सिर्जना गराएको तर “त्यसको मुख्य योजनाकार मस्कोमा रहेको ” बताउनु भएको हो ।

ब्रशल्स र वार्साले युरोपेली सङ्घले बेलारुसमाथि प्रतिबन्धहरू लगाएपछि मिन्स्कले गैरकानुनी आप्रवासीहरूलाई हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।

बेलारुसी नेता एलेक्जेन्डर लुकासेन्काले युरोपेली सङ्घको प्रतिबन्धको बदलामा मानिसहरू सीमातर्फ पाठाइएका भन्ने आरोपलाई अस्वीकार गर्नु भएको छ । तर बेलारुसका नेताले अवस्था बिग्रिएमा आफूले रुसको सहायता लिने चेतावनी दिएका छन्।

मङ्गलवार पोलिस प्रधानमन्त्री मोराभियस्कीले सीमामा फौजहरूलाई भेटेपछि संसद्को एउटा आपत्कालीन सत्रमा बोल्नु भएको थियो । त्यहाँ उहाँले भन्नुभयो, “लुकासेन्काले सञ्चालन गरिरहेको हमलाका योजनाकार मस्कोमा छन्। ती मुख्य योजनाकार राष्ट्रपति पुटिन हुन्।”

उहाँले ३० वर्षमा पहिलोपटक पोल्याण्डको सीमा सुरक्षामाथि “निर्दयी हमला” भएको बताउनु भयो। भिडिओ फुटेजहरूमा काँडेतारले छुट्याइएको पोल्याण्डसँगको सीमामा बेलारुसतर्फ मानिसहरूको भिड देख्न पाइन्छ। बीबीसी

Facebook Comments