Fri. Nov 15th, 2024

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त

काठमाण्डौं, २०७८ कात्तिक २२ गते सोमबार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाउनुभएको छ ।

बागमती प्रदेश सभामा आज भएको मतदानमा पाण्डेले विश्वासको मत पाउनु भएको हो । पाण्डेको पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षमा नेकपा (एमाले) को ४३ र साझा विवेकशील पार्टीको ३ मत परेको छ । नेपाल मजदुर किसान पार्टीले सो प्रस्तावमा तटस्थ रहने घोषणा गरेको थियो ।

प्रदेश सभामा हाल कायम सदस्य संख्या १०९ रहेकोमा १०४ जनाको उपस्थिति थियो । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पक्षमा मतदान गरे भने प्रमुख विपक्षी नेकपा एमाले र विवेकशील साझा पार्टीले विपक्षमा मतदान गरेका छन् ।

कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले संविधानअनुसार ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने थियो । प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री हुनुभएको थियो ।

विश्वासको मत माग्दै प्रदेश सभामा सम्बोधन गर्नुभएका मुख्यमन्त्री पाण्डेले आफ्नो सरकारले आर्थिक अनुशासन कायम गर्ने, फजुल खर्च घटाउने र जायज खर्च मात्रै गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालय थप गर्नेबारे अहिले नै सोच नबनाएको बताउँदै संविधानअनुसार नै गर्ने उल्लेख गर्नुभयो ।

Facebook Comments