Fri. Apr 24th, 2026

उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनद्वारा “अजेय सेना” बनाउने प्रण

       

काठमाण्डौं, २०७८ असोज २६ गते मंगलबार । उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकाको शत्रुतापूर्ण नीति विरुद्ध कसैले पराजित गर्न नसक्ने अजेय सेना बनाउने प्रण गरेको त्यहाँको राज्य सञ्चालित समाचार माध्यमले जनाएको छ।

किम जङ-अनले हतियारको विकास युद्ध शुरू गर्नका लागि नभै आत्म सुरक्षाका लागि भएको बताउनु भयो । थरीथरीका विशाल क्षेप्यास्त्रहरू राखेर आयोजना गरिएको दुर्लभ प्रकारको सुरक्षा प्रदर्शनीका बेला उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।

उत्तर कोरियाले हालै “हाइपरसोनिक” र विमानभेदी क्षेप्यास्त्र भएको दाबी गरिएका हतियार परीक्षण गरेको थियो। त्यसैगरी दक्षिण कोरियाले पनि हालै पनडुब्बीबाट हान्ने हतियार परीक्षण गरेको छ।

प्योङयाङमा भएको आत्म सुरक्षा सम्बन्धी २०२१ सैन्य प्रदर्शनीमा किमले दक्षिणको सैन्य विकासलाई सम्बोधन गर्दै उहाँले आफ्नो छिमेकीसँग लडाइँ गर्न नचाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “हामी कसैसँग पनि युद्धबारे छलफल गरिरहेका छैनौँ बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौँ।”

उत्तर र दक्षिण कोरियाबीच तनाव बढाउन भूमिका खेलेको भन्दै किमले अमेरिकाको आलोचना गर्नुभयो । अमेरिकाको उत्तर कोरियाप्रति व्यवहार “शत्रुतापूर्ण” रहेको उहाँले बताउनु भयो । बीबीसी

Facebook Comments

सम्बन्धित समाचार