Wed. Sep 25th, 2024

लगानी बोर्डद्वारा ७३ अर्ब बराबरको लगानी स्वीकृति

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार । लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।

बोर्डको बैठकपछि लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको झण्डै १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजीवृद्धि स्वीकृत गरेको जानकारी दिनुभयो ।

लगानी स्वीकृत भएको जुम खोला जलविद्युत् आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमार्णाधीन छ । माथिल्लो कर्णाली जलविद्युतबारे आवश्यक अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय भएको छ ।

माथिल्लो कर्णालीको अध्ययन गर्न समिति    

भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले प्रवद्र्धन गर्ने भनिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका सन्दर्भमा कुनै पनि प्रगति नभएपछि सरकारले एक अध्ययन समिति गठन गरेको छ ।

कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको सन्दर्भमा पछिल्ला दिनमा कुनै पनि प्रगति भएको छैन । लगानीकर्ता कम्पनी जिएमआरले बङ्गलादेश सरकारसँग विद्युत् खरिद सम्झौता गरेको बताए पनि आयोजनास्थलमा कुनै काम भएको छैन । आयोजना विकास सम्झौता (पिडिए) भएको सात वर्षभन्दा बढी समय भए पनि कुनै प्रगति नभएपछि आयोजनामा अन्योलता सिर्जना भएको छ । प्रवद्र्धक कम्पनीले ५०० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने जनाए पनि काम नहुँदा थप जटिलता पैदा भएको छ ।

बोर्ड बैठकले परियोजनाको पछिल्लो अवस्थाको अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न निर्देशन दिएको छ । त्यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

समितिमा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्यसचिवको रूपमा रहेका छन् ।

Facebook Comments