Wed. Sep 25th, 2024

फिलिपिन्स र रुसका पत्रकारलाई ११ लाख अमेरिकी डलर बराबरको यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार । पत्रकारहरू मारिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ साहसिक सङ्घर्षका लागि यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ।

पुरस्कार समितिले पुरस्कृत जोडीले ‘त्यो सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गर्ने’ बताएको छ। ओस्लोस्थित नर्वेजीयन नोबेल इन्स्टिच्युटले ११ लाख अमेरिकी डलर बराबरको पुरस्कारको घोषणा गरेको हो।

उहाँहरू ३ सय २९ जना मनोनीत व्यक्तित्वबाट छानिनु भएको हो । र्‍यापलर समाचार वेबसाइटका संस्थापिका रेसाले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेर “आफ्नो देश फिलिपिन्समा अख्तियार दुरुपयोग, हिंसाको प्रयोग र बढ्दो अधिनायकवादविरुद्ध आवाज उठाएको” समितिले बताएको छ।

र्‍यापलरको प्रत्यक्ष प्रसारणमा रेसाले आफू अचम्मित भएको बताउनु भयो । उहाँले आफ्नो जितले “तथ्यबिना केही पनि सम्भव नरहेको, तथ्यबिनाको विश्व भनेको सत्य र विश्वासबिनाको विश्व” हुने देखाएको बताउनु भयो।

समितिले नभोया गजेटा नामक स्वतन्त्र पत्रिकाका सह(संस्थापक र सम्पादक मुरातोभले दशकौँदेखि रुसमा चुनौतीपूर्ण अवस्थामा अभिव्यक्ति स्वतन्त्रताको लागि लडेको बताएको छ।

टेलिग्राम च्यानलको एक अन्तर्वार्तामा उहाँले भन्नुभयो, “म हाँसिरहेको छु। मैले यसको आशा गरेको थिइनँ। यहाँ रमाइलो अवस्था छ।”

उहाँले सो पुरस्कार रुसी पत्रकारिताका लागि भएको बताउनु भएको छ । बीबीसी

Facebook Comments