Wed. Sep 25th, 2024

प्रधानमन्त्री देउवाद्वारा आज सर्वदलीय बैठक आह्वान

काठमाडौं, २०७८ असोज १४ गते बिहीबार । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज बिहीबार बिहान १० बजे सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाउनुभएको प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीलाई उद्धत गर्दै राससले जनाएको छ ।

सो बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायतका विविध विषयमा छलफल हुने बताईएको छ। सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

Facebook Comments